रुविनको सारङ्गीलाई नआएको लोकतन्त्र

प्रकाशित मिति: 2017-04-24
राजन रुचाल

आन्दोलन ताका गाएका गीतहरु ११ वर्षपछि पनि गाउनु पर्दा रुविनलाई नराम्रो लाग्छ । देश हाँस्न सकेको छैन । त्यसैले उहाँको सारङ्गीले खुशीका धुन सुनाउन पाएको छैन ।

काठमान्डु । २०६२⁄०६३ को जनआन्दोलन भएको ११ वर्ष पुग्यो । जनआन्दोलनको बलमा आएको गणतन्त्र संस्थागत हुने चरणमा छ । आन्दोलन सफल पार्न २५ जना सहिद भए, कयौं घाईते भए । हजारौंले सडकमा उभिएर चर्का नारा लगाए । त्यहि भीडमा उभिएर सारङ्गी रेट्दै आन्दोलनका गीत गाएर लोकप्रिय बन्नुभयो रुविन गन्धर्व । ब्यवस्था र अबस्था फेरियो तर सारङ्गीको कथा अझै फरिएको छैन ।

२०६२⁄०६३ को १९ दिने जनआन्दोलन चल्दै गर्दा आन्दोलनकारीको भीडमा गीत गाउँदै हिड्थ्ये एउटा फुच्छे बालक । तीनै १४ बर्षका बालक रुविन गन्धर्वको कलिलो स्वर लोकप्रिय थियो । राजतन्त्र र तानशाहको विरोधमा रुविनको सारङ्गीको धुन सँगै चर्का नाराहरु लाग्थे । रुविनलाई त राजनीतिको विषयमा थाहा थियो न त लोकतन्त्रको विषयमा । तर जानी नजानी आन्दोलनमा होमिएका सयौं रुविनहरुको बलमा २ सय ४० वर्षसम्म शासन गरेको राजतन्त्रले घुँडा टेक्यो ।

शासन व्यवस्था फेरिए पछि सुखका दिन फिर्ने आशा गरेकाहरुमा असन्तुष्टि बढ्दै गएको छ । रुविनलाई लाग्छ, नेताले आशा गरिए अनुरुप काम गर्न सकेनन् र जनतामा निराशा बढ्दै गयो । आन्दोलन ताका गाएका गीतहरु ११ वर्षपछि पनि गाउनु पर्दा रुविनलाई नराम्रो लाग्छ । देश हाँस्न सकेको छैन । त्यसैले उहाँको सारङ्गीले खुशीका धुन सुनाउन पाएको छैन ।

अझैपनि क्षेत्र, जाती, वर्ग समूदायको नाममा लँडाई झगडा र राजनिति भइरहेको देख्दा रुविनलाई दिक्क लाग्छ । सारङ्गी रेट्दै पुगेका ठाउँमा उहाँले गाइरहने मध्यको एउटा गीतले नेपालको अहिलेको अवस्थालाई झल्काउने गरेकोे छ । उहाँलाई नेपाल र नेपाली एउटै मालामा गाँसिएको हेर्न मन छ । त्यसैले जहाँ पुगेपनि रुविन नेपालीलाई एकताको मालामा गाँस्ने गीत गाउन छुटाउनुहुन्न ।

लोकतन्त्र आएपछि मात्रै ९ वटा प्रधानमन्त्री फेरिए । तर सारङ्गीको व्यथा उस्तै छ । रुविन सारङ्गीको संरक्षण सम्बद्र्धन र व्यवसायिकताको कुरा लिएर कयौं पटक सिंहदरबार पुग्नुभयो । तर हरेक पटक उहाँ खिन्न बनेर फर्कनु प¥यो ।

२० हजार भन्दा धेरै गन्धर्वको मूख्य पेशा सारङ्गी बजाउने हो । तर व्यवसायिक रुपमा सारङ्गी बजाउने र त्यसबाटै जिविकोपार्जन गर्नेहरु पाँच सय पनि छैनन् । राज्यले सारङ्गी र गन्धर्वहरुलाई उपेक्षा गरेको रुविनको बुझाई छ ।

केहि नेताहरुको जीवन घमाईलो भएपनि अधिकांशको नेपालीको अवस्था उस्तै छ । २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि त्यसवेलाको जनआन्दोलन सकिएको थियो । यसवर्ष पनि लोकतन्त्र दिवसका रुपमा बैशाख ११ गते विभिन्न कार्यक्रम हुनेछन् । तर आन्दोलन सफल बनाउन र लोकतन्त्र ल्याउन रगत पसिना बगाउनेहरुलाई कस्ले सम्झने ?

 

तपाईंको बिचार