पहिलो महिला मेयर कान्तिका

चन्दननाथको उपमेयरमा पनि महिला

प्रकाशित मिति: 2017-05-18
नौरते नेपाली, रेडियो कर्णाली, जुम्ला

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कान्तिका सेजुवाल विजयी हुनुभएको छ । सेजुवाल नेपालकै पहिलो पहिला मेयर बन्नुभएको छ । सेजुवालले २८ सय ६ मत ल्याएर चन्दननाथ नगरपालिकाको प्रमुखमा जित हाँसिल गर्नु भएको हो । निकटतम प्रतिद्धन्दीलाई ७ सय ९१ मत अन्तरले पराजित गर्दै सेजुवाल विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत ल्याउनुभएको थियो । तेस्रो स्थानमा रहनुभएका नेकपा माओवादीका अशोक कुमार श्रेष्ठले २ हजार १५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकाको उप प्रमुखमा पनि पहिला नै विजयी हुनुभएको छ । नगरपालिकाको उप प्रमुखमा नेकपा माओवादी केन्द्रका अप्सरादेवि न्यौपाने (महत) विजयी हुनु भएको हो ।

२ हजार १८ मत ल्याएर न्यौपानेले उपप्रमुखमा जित हाँसिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी कांग्रेसका जगत खत्रीले १७ सय ७४ मत प्राप्त गर्नु भएको थियो भने एमालेका मेनका रेग्मीले १७ सय १० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका जुम्लाको मेयरमा विजयी सेजुवाल नेपाली कांग्रेस जुम्लाका पुर्व पार्टी सभापति एवं स्वर्गीय मानव सेजुवालकी धर्मपत्नी हुनुहुन्छ । सेजुवालका श्रीमान मानव सेजुवालको २०७० साल फागुन ४ गते भएको नेपाल वायु सेवा निगमनको टुइनेटर जहाज दुर्घटनामा अर्घाखाँचीको मसिने लेकमा मृत्यु भएको थियो ।

शिक्षकको जागिर छोडेर सेजुवाल विगत २ वर्षदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । विजयी सेजुवालले चन्दननाथ नगरपालिकाको मुहार फेर्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रतिक्रिया दिनुभएको छ । सडक, विद्युत र खानेपानीको समस्या रहेको नगरपालिकाको विकासमा पहिलो प्राथमिकता दिने बताउनुभएको छ । 

 

तपाईंको बिचार