निर्वाचित जनप्रतिनीधिसँग बृद्धबृद्धाको अपेक्षा

प्रकाशित मिति: 2017-05-19
ज्योति श्रेष्ठ, काठमाडौं ।

स्थानीय तहको निर्वाचनपछि अब नगरपालिका, गाउँपालिकादेखि वडामा पनि जनप्रतिनिधि पुग्नेछन् । स्थानीय तहको चुनावप्रति विभिन्न उमेर, समूहका नागरिकको चासो छ । बृद्धा–बृद्धाहरुले निर्वाचित हुने जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेका छन् । 

बुधबार मध्यान्ह १२ बजेतिर काभ्रेको बेथान्चोक गाउँपालिका पुग्दा विजयी ¥याली भइरहेको थियो । गाउँपालिका प्रमुख लगायतका पदाधिकारी निर्वािचत भएपछि स्थानीयबासी हर्षित मात्र छैनन्, अहिलेसम्म नपाएको सेवासुविधा पाउने अपेक्षा पनि उनीहरुको छ । 

बेथान्चोक गाउँपालिका वडा नं २ ढुङखर्कका बृद्धबृद्धाहरु पनि निकै खुशी छन् । उनीहरु आफूले रोजेका उम्मेदवारले आफ्ना हकहितका लागि केहि गर्छन् भन्नेमा विश्वस्त छन् । ७० वर्षीया  बालकुमारी दाहाललाई निवार्चित जनप्रतिनीधिले बृद्ध भत्ता बढाइदिए हुन्थ्यो भन्ने लागेको छ ।

दाहालले भन्नुभयो, ‘मेरो लागि त भत्ता बढाइदिए हुन्थ्यो भन्ने लागेको छ, समयमा पाउन पाए हुन्थ्यो ।’ बृद्धबृद्धा सबैले सुख सुविधाले बस्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना छ । बेथान्चोका गाउँपालिकाको कुल जनसंख्या लगभग १७ हजार मध्ये बृद्धबृद्धाको संख्या करिब १२ सय छ । गाउँपालिकाले जनप्रतिनिधि पाएपछिको ¥यालीमा दुई जना बृद्धाहरु पनि भेटिनुभयो । 

७९ वर्षीया लुब्ध कुमारी तिमल्सिनालाई आफू कति वर्षको भएँ भन्ने पनि थाहा छैन । ‘९५ सालको जन्म हो, तिमल्सिनाले भन्नुभयो, कति वर्ष भएँ हिसाब आउँदैन । ’ उहाँले अगाडी थप्नुभयो, ‘अब काम गर्न सक्न छोडियो सुख सुविस्ता होस् ।’ नागरिकताको कारण ७९ वर्ष भइसक्दापनि तिमल्सिनाले बृद्ध भत्ता पाउनुभएको छैन । आउँदा पुस्ताले विकासका राम्रा काम गरुन् भन्ने उहाँको चाहना छ । 

विजयी ¥यालीमै भेटिनुभएका गेलुङका ६६ वर्षिया मैया तिमल्सिनाको एउटै चाहना छ सबै नागरिकले सजिलोसँग काम गरेर खान पाऊन् । अब सरकारी कामका लागि टाढा जानु नपर्ने कुरा सुनेर उहाँलाई निकै खुशी लागेको छ । सानो कामका लागि टाढा जानुपर्दा बृद्धबृद्धालाई निकै गाह्रो हुने उहाँ बताउनुहुन्छ । आफूले दुःख काटेपनि पढेका सन्तानले आफ्नै देशमा सजिलै रोजगारी पाऊन् भन्ने उहाँ चाहनुहुन्छ ।

बेथान्चोक गाउँपालिकाकै अर्का शेरबहादुर श्रेष्ठ पनि ¥यालीमा भेटिनुभयो । ७२ वर्षीय श्रेष्ठ निवार्चित जनप्रतिनीधिले गाउँको विकास गर्नुको साथै सेवा सुविधा बढाइदिनुपर्ने बताउनुहुन्छ । ‘गाउँपालिका राम्रो होस्, नागरिकता बनाउन, जग्गा पास गर्न सजिलोसँग पाइयोस्’ श्रेष्ठले भन्नुभयो ।

स्थानीय तहको निर्वाचन हुनुअघि राजनीतिक दलहरुले जारी गरेको घोषणापत्रमा बृद्धबृद्धाहरुको स्याहारका लागि अत्याधुनिक बृद्धाश्रम खोल्नेदेखि बृद्धभत्ता बढाउने सम्मका विषय उल्लेख गरेका छन् । दलहरुको घोषणापत्र अनुसार व्यवहार होला भन्ने अपेक्षा नागरिकमा भए पनि घोषणापत्र कार्यान्वयन नहुँदासम्म यसै भन्न सकिन्न । 

 

तपाईंको बिचार