सीआईएन वार्षिकोत्सव मनाउँदै

प्रकाशित मिति: 2017-05-29

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्धारा संचालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले आठौं वार्षिकोत्सव मनाएको छ । नवौं वर्ष प्रवेशको अवसरमा सोमबार राजधानीमा कुरीति र विभेदमा सांसदहरुसँग छलफल कार्यक्रम गरेको हो । 

कार्यक्रममा सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कका सहअध्यक्ष मिनबहादुर शाहीले समाजमा रहेका विभेद, शोषणका मुद्दा उठाउने उद्देश्यले नै सीआईएन स्थापना भएको भन्दै यस्तो काम गरिरहेको बताउनु भएको छ । 

सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सामुदायिक रेडियोहरुले नागरिकको सूचनाको हकको जानकारी प्रत्येक नागरिकलाई पुर्याउन सामुदायिक रेडियोहरुलाई सुझाव दिनुभयो । संचारकर्मीहरुले सूचनाको हकलाई अग्र भागमा राखेर लागू गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्यानल छलफल : “विभेद र सामाजिक कुरितीविरुद्ध सांसद र मिडियाको भूमिका”

“विभेद र सामाजिक कुरितीविरुद्ध सांसद र मिडियाको भूमिका” विषयमा प्यानल छलफल पनि गरिएको थियो प्यानलको सहजीकरण पत्रकार राजेन्द्र फुयाँलले गर्नुभएको हो भने प्यानलमा एमाले उपाध्यक्ष समेत रहनु भएकी सांसद अष्टलक्ष्मी शाक्य, नेपाली कांगे्रसका सांसद जीवन परियार र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारी हुनुहुन्थ्यो । 

त्यसक्रममा सांसद शाक्यले समाजमा व्याप्त कुरीति अन्त्यका कुरा संविधानमै उल्लेख भइसकेकाले अब यसलाई हाम्रो सोचबाट पनि हटा।उनु पर्ने बताउनुभयो । विभेद, शोषणरहित समाज निर्माणका लागि व्यक्तिव्यक्ति आ–आफ्नो घरबाटै अन्त्य गर्दै लैजानुपर्ने बताउनुभयो ।

त्यस्तै अर्का सांसद जीवन परियारले सामाजिक कुरीतिभित्रको जातीय छुवाछुत विरुद्धको कानून र संविधानमा लेखिए पनि उल्लेखनीय कार्यान्वयमा नआएको भन्दै गुनासो गुनासो गर्नुभयो ।

माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले हाम्रो समाजले आधाभन्दा बढी महिलालाई दोस्रो तहको रुपमा हेर्दा सिंगो समाजको आधाभन्दा बढी भाग होचिने बताउनुभयो । 

प्यानलमा छलफलमा भाग लिंदै सहभागीहरुका तर्फबाट सामाजिक कुरीति अन्त्यका लागि सांसदहरुले उल्लेखनीय भूमिका खेल्न नसकेको बताएका थिए ।

 

तपाईंको बिचार