स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै

प्रकाशित मिति: 2017-07-09

काठमाण्डु । स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दैछन् । व्यवस्थापिका संसदमा अर्थ मन्त्रालयले पेश गरे जस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नुपर्नेछ् । पहिलो चरणका निर्वाचिन स्थानिय तहमा बजेट आएपनि भरखरै निर्वाचित प्रतिनिधीले भने तयारी नपुगेको भन्दै पछि बजेट ल्याउने बताएका छन् ।

सरकारले दोस्रो चरणमा निर्वाचित जनप्रतिनीधिलाई साउनको पहिलो हप्तासम्म बजेट ल्याउन सकिने समय दिएको छ । वर्षभरी हुने चालू खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजश्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिकामा पेश गर्नुपर्ने भएको हो । 

केही स्थानीय तहबाहेक अधिकांशमा आज बजेट हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले सीआईएनलाई जानकारी दिनुभयो । गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्नेछ । कानुन नभई निर्देशिकामार्फत् २५ गते बजेट ल्याउनु भनेकाले प्राविधिक कठिनाइका कारण केही स्थानीय तहले एक÷दुई दिनपछि पनि बजेट सार्वजनिक गर्न सक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

पारित गरेपछि मात्रै नयाँ आर्थिक वर्षमा स्थानीय तहले बजेट खर्च गर्न पाउने छन् । स्थानीय व्यवस्थापिकामा हाल निर्वाचित भएर आएका मेयर÷अध्यक्ष र उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँपालिकाका सदस्यहरु रहनेछन् । सभामा प्रत्येक वडाबाट कम्तिमा दुई जना महिलाको प्रतिनिधित्व हुनेछ । सभामा पेश भएको बजेट पास भएपछि खर्च गर्न बाटो स्थानीय तहलाई खुला हुनेछ ।

तपाईंको बिचार