खिम्तीमा बाढी : ८ बेपत्ता, एकको मृत्यु

खोला थुनिएका कारण उद्दारमा समस्या

प्रकाशित मिति: 2017-07-16
सौजन्य सत्याल, रेडियो रापेछाप, रामेछाप

पूर्वी रामेछापको खिम्तीमा आज मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीले ८ जना मानिस बेपत्ता भएका छन् । खिम्तीको छतिउने खोलामा आएको बाढीले कुमार खत्रीसहित २ जनाको घर र मानिस बगाएको हो ।

बाढीले बगाएर स्थानीय कुमार खत्रीका आमाको मृत्यु भएको छ । उहाँको शव फेला परेको स्थानीय गणेश दाहालले जानकारी दिनुभयो । बाढीले मैया खत्री, गेलुबाट गोरु किन्न गएका बासु, अशोक तामाङ र उहाँका छोरी बगाएको पुष्टि भएको छ ।

नजिकैका विकास कार्यमा काम गर्न डेरा लिएर बसेका कामदारहरु पनि सम्पर्कमा नआएकाले बेपत्ता हुनेको एकिन संख्या नआएपनि ८ जना बगाएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले जानकारी दिनुभएको छ ।

उहाँले सुरक्षाका तीनै वटा निकाय परिचालन भएपनि खोलामा जमेको दहका कारण बेपत्ताको खोजी र उद्दार गर्न समस्या परेको बताउनुभयो । त्यहाँ भर्खरै जिल्ला प्रहरी कार्यालय रामेछापको टोली पुगेको बताइएको छ ।

बाढीले खिम्ति फर्पू जोड्ने पक्की पुल पनि बगाएको र खिम्ती बजारमा बन्दै गरेको पक्की पुलमा क्षति पुगेको बताइएको छ । त्यस्तै बाढीले खिम्ती खोलामा रहेको सिँचाइको कुलो पूर्णरुपमा बगाएको छ । खिम्ती खोलाको खहरे खोला थुनिँदा मुख्य बजारमा बाढी पसेको छ । बाढीले स्थानीय व्यापारीहरुको घरपसलमा क्षति पुगेको छ ।

बाढीले घर गोठ बगाउँदा दर्जनौ पशुचौपायाको शव यत्रतत्र छरिएका छन् भने बाढीकै कारण गाडी समेत पल्टिएको स्थानीय गणेश दाहालले जानकारी दिनुभएको छ । बाढीले पुल बगाएपछि दोलखा – ओखलढंगा सडक अवरुद्ध भएको छ । 

 

तपाईंको बिचार