खेर जाने सामानको उत्पादन गर्दै/सिकाउँदै निलम

भन्नुहुन्छ, ‘सीप हस्तान्तरण गर्नुपर्छ’ (अडियोसहित)

प्रकाशित मिति: 2017-08-02
लक्ष्मी बस्नेत, काठमाडौं

निलम ताम्राकार, झण्डै ४० वर्ष नेपाल सरकार अन्तर्गतको घरेलु उद्योग विकास समितिमा काम गरेर अवकाश पाउनुभयो । अवकाश प्राप्त जीवन फर्सदिलो हुनुपर्ने हो तर होइन, उहाँको दैनिकी जागिरे जीवनभन्दा धेरै व्यस्त छ । 

काठमाडौंको बालुवाटारमा घर छ, नयाँ नयाँ सिर्जनात्मक हस्तकलाका सामान । आफ्नै हातले उत्पादन गरेका विभिन्न सजावटका सामानहरुले भरिभराउ देखिन्छन्, कोठाहरु ।

अघिल्लो हप्ता उहाँको घर पुग्दा लाग्थ्यो, उहाँको घर बसाइ कार्यालयभन्दा बढी व्यस्त देखिन्थ्यो । उहाँसँग भेटघाट तालिम लिएर केही गर्न खोज्नेहरु कस्तो तालिम लिउँ भन्दै सोध्नेहरु धेरै आउँछन् । तालिम दिनेहरु पनि लक्षित समूहको बारेमा बताउँदै कस्तो तालिम दिने भन्ने पहिले नै सोध्छन् । 

निलम भन्नुहुन्छ, ‘कसको लागि कस्तो तालिम ठिक हुन्छ भनेर आवश्यकता पहिचान गरेर तालिम दिने गरेको छु । किनकी सिकेपछि त्यत्तिकै नछोडुन् ।’ 

७० भन्दा बढी जिल्लामा पुगेर कुनै न कुनै तालिम वा लामोछोटो प्रशिक्षण, अभिमुखीकरण दिइसकेको उहाँ बताउनुहुन्छ । जिल्लाहरुमा त्यहींको कच्चा पदार्थ के छ भनेर पहिला पहिचान गरेर त्यसैको सदुपयोग गरेर त्यसैको उत्पादन गर्न सिकाउने गर्नुभएको छ ।

उहाँले पछिल्लो समय पुराना लगाउन नमिल्ने भनेर राखेका कपडा, पढिसकेको किताब तथा पत्रपत्रिकाको सदुपयोग गरेर बनाएका उत्पादनहरु नयाँ हुन् । बजारसम्म धेरै पु¥याउने गरी उत्पादन गर्न नसकेको तर फाल्ने कुराको उपयोग गर्न सिकाउनेतर्फ बढी लागेको उहाँ बताउनुहुन्छ ।

पेस्ता खाइसकेपछिको खोल, गाउँतिर पाइने चिलाउनेको दानाबाट पनि उहाँले सजावटका सामग्रीदेखि युवा महिलाहरुले बढी लगाउने कानका गरगहनाहरु बनाइरहनु भएको छ । आफ्नै घरको एउटा कोठामा थरिथरिका कच्चा पदार्थदेखि बनाउने मेसिन र आवश्यक सबै सामग्री पनि छ । उहाँको एउटै मात्र नारा छ, जानेको सीप आफूसँग मात्र राख्नुहुँदैन, हस्तान्तरण गर्नुपर्छ । उही निलम ताम्राकारसँग केहीदिन अघि उहाँकै घरमा पुगेर गरिएको अडियो कुराकानी 

तस्वीरमा पुराना कागज, मर्कैको खोस्टाका उत्पादनहरु 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार