नेपालकै पहिलो नमूना सामूहिक खेती

प्रकाशित मिति: 2018-02-25
लक्षिमा योन्जन, पाँचथर

पाँचथर । राजा बीरेन्द्रलाई उजुरी दिइयो–‘राजा विरोधी एकजना कांग्रेस कार्यकर्ताले खेती गर्ने भन्दै संगठन बनाइरहेको छ, भूमिगत राजनीति गरिरहेको छ ।’

त्यसबेला यो अत्यन्तै आपत्तिजनक काम थियो । करिब ३५ वर्ष अघिको घटना हो यो ।

पञ्चायतकालमा राजा विरोधी भनेर कहलिएका दीपक प्रकाश बाँस्कोटाले अनौठो खेती थालेका थिए । त्यो जमानामा निजी रुपमा चिया खेती गरिनु नौलो काम थियो । झन दीपकले एक्लै नभएर समूह बनाएर खेती थालेका थिए ।

प्रतिवन्धित कांग्रेसका कार्यकर्ता बाँस्कोटाले समूह बनाएर चिया खेती गरेको उजुरी राजा बीरेन्द्रकोमा पुग्यो । दीपकलाई ठूलै कारवाही होला, जेलनेल होला भन्ने सोचिएको थियो । तर, उल्टो भयो ।
उजुरीकर्ताहरुलाई बीरेन्द्रले उल्टै भनिदिए, ‘तपाईंहरुले पनि समूह बनाएर खेती गरे हुन्न ?’

तर, कुरा यस्तो थियो

वास्तवमा राजनीतिसँग कुनै सम्बन्ध थिएन दीपकले थालेको चिया खेतीको । दीपक प्रतिवन्धित कांग्रेसका सदस्य थिए तर उनी राजनीतिका लागि नभएर चिया खेती गर्न भनेरै लागिपरेका थिए । राजनीतिभन्दा माथि उठेर समाजमा केही राम्रा उदाहरण स्थापित गरौं भन्ने चाहन्थे ।

२०२० सालमा १५ वर्षका थिए दीपक । भारतको दार्जिलिङ र सिक्किम डुल्न गएका थिए । त्यहाँको चियाबगान देखेर मोहित भए । आफ्नो ठाउँ पाँचथरमा पनि यस्तै खेती गर्न पाए हुने भन्ने मनमा आयो । चिया खेतीले उनको मनमा जरा गाडिसकेको थियो ।

०३७ सालमा भएको जनमत संग्रहमा कांग्रेस अर्थात् बहुदलले हार्यो, पञ्चायतले जित्यो । गैर पञ्चहरुमाथि ठूलो दमन भइरहेको थियो । अन्य कांग्रेसजनजस्तै दीपक पनि भारत पलायन भए । जब फर्किएर आए उनी राजनीति बोकेर आएनन्, सहकारी बोकेर आए ।

भारत पलायन भएको बेला उनी दार्जिलिङ क्षेत्र घुमेका थिए । किशोर उमेरमा देखेका चिया बगानलाई युवा उमेरमा गहिरिएर हेरे, अध्ययन गरे । अनि, फकिएर आएर थाले चियाबगान । नाम राखेकञ्चनजंगा टि स्टेट ।

०३९ सालमा दीपकले थालेको कञ्चजनजंगा टि स्टेट नेपालको पहिलो सफल सामूहिक खेती हो । सहकारी खेतीको पहिलो सफल तथा विलक्षण उदाहरण हो ।

आज दीपकले थालेको पाँचथरको कञ्चनजंगा टि स्टेटमा करिब ६ सय कामदार छन् । सयौं परिवार आवद्ध छन् । करोडौं रुपैयाँको कारोबार छ । नेपालमै उदाहरणीय नाम बनेको छ । अनि, विश्व बजारमा आर्गनिक चियाका लागि कञ्चनजंगा शशक्त ब्राण्ड बनेको छ ।

सुरुमा कसैले पत्याएनन्

आजको सफल कञ्चनजंगा टि स्टेटको जगमा असफलता र निराशाका थुप्रै ईंट्टा छन् । असफलता र निराशालाई जित्दै आजको विशाल कञ्चनजंगा चिया बगान बनेको हो ।

जनमत संग्रहमा बहुदल हारेपछि दीपक भारत पलायन भए, केही समयपछि स्वदेश फर्किए । पाँचथरको रानीटारमा सहकारी मोडलमा चियाबगान बनाउने योजना बोकेर फर्किएका थिए । उनले गाउँका किसानहरुलाई भेला पारेर चिया खेतीको योजना सुनाए ।

अहँ, कसैले पत्याएनन् ।

विकट गाउँ रानीटारमा चिया खेती गरेर के गर्ने ? अनि, चिया फल्न पाँच वर्ष लाग्छ । भएको जग्गाजमिनमा चिया रोपेर दैनिक गुजारा कसरी चलाउने ? 

सामूहिक खेतीका बारेमा त गाउँलेले सुनेकै थिएनन् । सहकारी सुनेका थिए तर के हो भन्ने बुझेकै थिएनन् । दीपकको जोड थियो, सहकारी खेती गरौं । उनले पाँच वर्ष केके गर्ने भन्ने योजना बनाए, सहकारीमा जग्गा राख्ने, सहकारी मार्फत् नै खेती गर्ने, पाँच वर्षपछि सहकारी मार्फत् नै नाफा लिने कुरा बुझाउन थाले ।

दीपकले आफ्नै २० रोपनी बारीमा चिया खेती थाले । चियाको विरुवा उपलब्ध गराइदिएका थिए तत्कालीन मन्त्री नरेन्द्रनाथ बाँस्तोलाले । दीपकको चिया बढ्दै थियो, हरियो भएर हुर्कंदै थियो । यो देखेपछि गाउँलेहरुलाई पत्याउन करै लाग्यो ।

पाँच वर्षपछि निश्चित रुपमा नाफा दिन्छु, त्यो नाफा आफ्नो जीवनकालभरी मात्र नभएर सन्तान दरसन्तान सम्मले पाउँछन् भनेर दीपकले कुरा बुझाए । खेती थाल्नु परको कुरा, गाउँलेलाई बुझाउन नै महाभारत भयो । गाउँ तथा जिल्लामा दीपक विकासप्रेमी र विश्वशनीय भनेर चिनिन्थे । त्यसैले पत्याउने मानिसहरु पनि देखिन थाले ।

केही गाउँले तयार भए सहकारी चिया खेती गर्न ।

हुन्छ त चिया खेती ? शंकै थियो । लगानी ठूलो थियो, धेरै मानिस संलग्न हुनेवाला थिए । खेती भएन भने के गर्ने ? चिन्ता पनि थियो । यो चिन्ता समाधानका लागि उनले चिया रोपण क्षेत्रको माटो संकलन गरे । दुई बोरा माटो भेला गरेर बिराटनगर लगे, परीक्षण गराए । चियाखेती हुने देखियो ।

उत्साह झन बढ्यो ।

तर, समस्या आयो, उनी कांग्रेस थिए । कांग्रेस नेताले थालेको नयाँ काममा सहभागी हुँदा आफूहरुलाई समस्या पर्ने त होइन भनेर डराउन थाले । दीपकले सहकारी चिया खेती र राजनीति बीच कुनै सम्बन्ध छैन भनेर विश्वश्त पारे । दीपकलाई थाहा थियो– सहकारी चिया खेती र राजनीतिलाई अलग राख्न सकिएन भने काम सफल हुँदैन ।

चिया खेतीका लागि एक सय रोपनी जग्गा जुटाउन सफल भए दीपक । जग्गा जुट्यो, अब खेती कसरी थाल्ने ? लगानी कहाँबाट जुटाउने ? उनले सदरमुकाम फिदिमका चिनेजानेको साथीहरुलाई चिया खेतीमा लगानी कार्यक्रम सुनाए । खेतीका लागि केही जग्गा सहकारीले नै किन्नुपर्ने थियो, जसलाई ६ लाख रुपैयाँ चाहिन्थ्यो ।

जग्गा खरिद र चिया रोपण गर्न ३६ लाख रुपैयाँ चाहिएको थियो । ६०/७० जनाले सेयर लिने भए । उनीहरुबाट ४५ लाख रुपैयाँ आउने भयो । सेयरका लागि नेपाल बैंक लिमिटेडमा खाता खोलियो, खातामा कबोल गरेको सेयरको दस प्रतिशत रकम जम्मा गर्न लगाइयो ।

रकम जुट्ने अवस्था भयो । त्यसबेला ठूलो काम फत्ते गरेजस्तो महशुस भएको बताउँछन् दीपक ।

हरियो नमूना

त्यसबेला झापामा निजी क्षेत्रले चिया खेती थालिसकेको थियो । उनले झापा गएर तत्कालीन मन्त्री नरेन्द्रनाथ बाँस्तोलासँग भेटे । बाँस्तोलाका छोराहरुले झापामा चिया बगान थालेका थिए । मन्त्रीको परिवारलाई चिया खेतीको अनुभव थियो । उनीहरुले धेरै तरिकाहरु सिकाइदिए ।

यता दीपक चिया खेतीबारे बुझ्न हिँडेका थिए, उता सेयर धनीहरुले रकम जम्मा गर्दै थिए । दीपकको बारीको चिया देखेरै धेरैजनाले सेयर हाल्न रहर गरे ।

चियाको नर्सरी तयार भयो, विरुवा उम्रन थाल्यो । अहोरात्र चिया खेतीमा कुदिरहे दीपक । अनेक झन्झट झमेला थियो । रानीटारमा मोटर पुग्दैनथ्यो, त्यसबेला फिदिममा पनि मोटर पुग्दैनथ्यो । मोटर देख्न इलाम पुग्न पथर््यो । प्रशासन पनि दाहिना थिएन, पञ्चहरुले असहयोग गर्थे ।

०३९ सालमा चिया खेती सुरु भएपछि ०४२ सालमा कञ्चनजंगा टि स्टेट दर्ता गरे काठमाडौं गएर । त्यसपछि कृषि विकास बैंकसँग ऋण मागे तर दिइएन ।

अभावकै बीचमा सय रोपनी जग्गा हरियो बन्न थाल्यो । यो हरियोपना नमूना थियो– सहकारी, चिया खेती र सामूहिक खेतीका ।

राजा बीरेन्द्रको सहयोग

कञ्चनजंगा टि स्टेटमा विभिन्न तरिकाले लगानी गरिएको थियो । एक खालको लगानीको सर्त थियो, कामदार पनि बन्न पर्ने । जग्गा दिने किसान आफै कामदार पनि बने । उनीहरुको पारिश्रमिकको रकमबाट थोरै हिस्सा कटाएर पाँच वर्षमा सेयर लगाउन सक्ने बनाउनु थियो ।

चिया खेती सुरु भएपछि कांग्रेसी संगठन बनाउन खोजेको आरोप जोडसँग सुरु भयो । चिया खेती थालनीमै थियो, विस्तार गर्नु थियो तर खेती विस्तार हुन दिँदैनौं भन्न थाले । राजाकोमा समेत उजुरी पुग्यो ।

कठिन संघर्ष बीच चियाखेती सुरु भयो, अलिअलि विस्तार पनि हुन थाल्यो । रोपण गरिएको क्षेत्रमा पाँच वर्षपछि चियाको पत्ती फल्न थाल्यो ।

चिया बगानलाई ०४५ सालमा ठूलो धक्का लाग्यो । त्यसबेला पूर्वी नेपालमा ठूलो भूकम्प गयो । पाँचथरमा पनि धनजनको ठूलो क्षति भयो । भूकम्पपछिको अवस्था हेर्न तत्कालीन राजा बीरेन्द्र पाँचथर आए । राजा आएको मौकामा पञ्चायती व्यवस्था समर्थकहरुले राजा समक्ष चियाबगान बनाएर कांग्रेस संगठन बनाउने राजनीति गरेको भन्दै उजुरी दिए । प्रशासन पनि दीपक र चिया बगानको विरुद्धमा पहिले देखि नै थियो ।

राजालाई शक्तिशाली मानिसहरुको एउटा समूहले भेट्यो । दीपकले सहकारी बनाएर थालेको चिया खेतीको विरोध गरे । उनीहरुलाई राजाले प्रतिप्रश्न गरे– ‘तपाईंहरुले पनि चिया खेती गरे हुन्न ? कम्पनी खोले हुन्न ? तपाइहरुले विद्याल सञ्चालन गरे हुन्न ?’

राजाको यो वचन पाँचथरमा डढेलो सरह फैलियो । राजाको त्यो वचन कञ्जनजंगा टि स्टेटको जित थियो, सहकारीको जित थियो, सामूहिक खेतीको जित थियो ।

राजालाई बाँस्कोटालले भेट्न खोजे, भेट पाइन्छ भन्ने बाँस्कोटालाई खासै विश्वाश थिएन । तर, अचम्मै भयो । राजाले भेट दिए । भेटमा दीपकले राजनीतिक कुराकानी कुनै गरेनन्, विकास, सहकारी र चियाखेतीको मात्र कुरा गरे, राजालाई आफ्नो योजना सुताए ।

यो भेटले कञ्चनजंगा टि स्टेटको प्रगतिको अर्काे ढोका खोल्यो । राजाले हौसला दिए । चिया खेतीका लागि ऋण दिन सरकारलाई निर्देशन दिए ।

राजाको निर्देशन भनेपछि पञ्चायत कालमा कानुन सरह हुन्थ्यो, तदारुकतासाथ कार्यान्वयन हुन्थ्यो । कृषि विकास बैँकले कञ्चनजंगा टि स्टेटका लागि ऋण दियो । त्यसपछि चिया खेती विस्तार तिब्र गतिमा हुन थाल्यो ।

गिरिजाप्रसाद पनि..

पञ्चायती व्यवस्था थियो, कांग्रेस प्रतिवन्धित थियो । कांग्रेस नेता गिरिजाप्रसाद कोइराला पाँचथर पुगे । उनी त झन चिया बगान हेर्न रानीटार नै पुगे ।

कञ्चनजंगा टि स्टेट चर्चाको चुलीमा थियो तर आर्थिक उपलब्धी भइरहेको थिएन । चिया खेती विस्तार हुँदै थियो तर आम्दानी थिएन ।

उत्पादन भएको चिया पत्ती कहाँ बेच्ने ? सडक थिएन, यातायात थिएन । पहिलो वर्षको उत्पादन गाउँलेलाई सित्तैमा बाँडेको सुनाउँदै दीपक भन्छन्, ‘त्यसबेला निराशाजनक अवस्था थियो तर भविष्य उज्यालो देख्थें, त्यही उज्यालोको बलमा चिया बगानले खुट्टा टेक्दै गयो ।’

चियाको हरियो पत्ती इलाम लगेर बेच्न सकिन्छ कि ? प्रयाश गरे । इलाम बजारमा एउटा कारखाना थियो, त्यसैलाई बेच्ने योजना बनाए । तर, सम्भव देखिएन । यातायात असाध्यै कठिन । हिउँदमा मात्र पाँचथरबाट नियमित मोटर चल्थ्यो इलामसम्म । वर्षामा कठिन थियो ।

के गर्ने ? कञ्चनजंगाले फिदिम बजारमा सानो टहरा बनाएर चियापत्ती बेच्न थाल्यो । तर, यसरी बेचेर चिया खेती धान्न सम्भव थिएन ।

०४७ सालमा पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आयो । अन्तरिम सरकारका यातायात मन्त्री मार्शल जुलुम शाक्यसँग दीपकको राम्रो सम्बन्ध थियो । उनलाई आफ्नो चिया बगान हेर्न बोलाए । आफ्नो चिया बगान सम्म बाटो बनाउन बजेट माग गरे । बगानमा बाटोे पु¥याउने, अनि चिया कारकाखाना खोल्ने सोचे । सोही अनुरुप यातायात मन्त्री शाक्यले बजेट दिए । बाटो खनियो । बगानसम्म गाडी पुग्न थाल्यो ।

आफ्नै कारखाना

सन् १९९५ मा कञ्चनजंगा टि स्टेटले रानीटारमा आफ्नै कारखाना स्थापना गर्यो । त्यसपछि प्रगतिको अर्काे यात्रा सुरु भयो ।

आज कञ्चनजंगा टि स्टेट करिब सय हेक्टरमा फैलिएको छ । आफ्नै कारखाना छ । सय भन्दा धेरै किसान परिवार आवद्ध छन् ।

कञ्चनजंगाको मुख्य विशेषता हो– कम्पोष्ट मल मात्र प्रयोग । जतिबेला यो चिया बगान सुरु भएको थियो त्यसबेला पाँचथरमा रासायनिक मल पाइँदैनथ्यो । जतिबेला रासायनिक मल पाइन थाल्यो, त्यसबेला पूरै चिया बगान कम्पोष्ट मल आधारित बनिसकेको थियो ।

०४७ सालमा बहुदल आएपछि दीपक सहकारी विकास बोर्डका अध्यक्ष बने । देश विदेश घुम्न गए । त्यसबेला उनी यूरोप पनि घुम्न गए । त्यहाँ गएर हेरेपछि कञ्चनजंगा चिया बगानको कम्पोष्ट मल आधारित चिया खेतीको महत्व झन राम्ररी बुझे ।

त्यसपछि कञ्चनजंगा टि स्टेटका उत्पादनलाई अन्तराष्ट्रिय अर्गानिक सर्टिफिकेट दिलाए । निकै कठिन थियो यो काम ।

र, अर्काे कीर्तिमान पनि बन्यो । विश्वकै पहिलो अर्गानिक चिया प्रशोधन कारखानाको प्रमाण पत्र पनि कञ्चनजंगा टि स्टेटको कारखानाले पायो ।

अहिले कञ्चनजंगाले वार्षिक डेढ लाख किलोभन्दा धेरै हरियो पत्ती उत्पादन गर्छ । साना किसानबाट ६० हजार किलो जति किन्छ । र, यी सबै चिया अर्गानिक चियाका रुपमा विदेश निर्यात हुन्छ ।

यात्रा जारी छ

अनेक दृष्टिले नेपालकै नमूना बनेको छ कञ्चनजंगा टि स्टेट । र, कञ्चनजंगाको खेती कम्पोष्ट आधारित छ भने व्यवसाय चाहिँ कर्पाेरेट शैलीमा भइरहेको छ । यसका अगुवा हुन् दीपक प्रकाश बाँस्कोटा ।

कञ्चनजंगाको संघर्षको कथा बेलिविस्तार लगाइसकेपछि दीपक भन्छन्– ‘यात्रा जारी छ, अझै धेरै संघर्ष गर्नु छ, अझै धेरै उपलब्धी हासिल गर्नु छ । सहकारी मोडललाई देशभरी फैलाउनु छ ।’ हाम्रो कथाबाट

तपाईंको बिचार