घरायसी कामको मुल्यांकन गर्न भोजपुरका महिलाको माग

प्रकाशित मिति: 2018-02-26
प्रमित सिप्तुङ, चोमोलुङमा एफएम, भोजपुर

भोजपुरका महिलाहरुले आफुहरुले दैनिक रुपमा घरमा गर्ने कामको मुल्यांकन नभएको गुनासो गरेका छन् । भोजपुर नगरपालिका ८ का सुकुमाया राई दिनभरी घरको काम गर्नुहुन्छ । तर श्रीमानले ज्याला मजदुरीको काम गरेर कमाएको दैनिक एक हजार नै आफुहरुको आम्दानी हो भन्ने उहाँको बुझाई छ । स्थानीय देवकी राईले सानो चिया पसल खोल्नु भएको छ । 

घरको कामसँगै चलाएको चिया पसलले सामान्य घर खर्च चलिरहेको छ । तर त्यसलाई परिवारका सदस्यहरु आम्दानी मान्दैनन् । देवकी गुनासो गर्नुहुन्छ । महिलाहरुले घरमा गर्ने काम प्रत्यक्ष रुपमा आम्दानीसँग जोडिंदैन । तर अप्रत्यक्ष रुपमा आर्थिक टेवा भने पुगिरहेको हुन्छ ।

जागिरे पुरुषहरु भएपनि आर्थिक परिचालनमा महिलाहरुनै अगाडि र मितव्ययी हुने अनुभव भोजपुर बहुमुखि क्याम्पसका लेखा अधिकृत बिष्णु कुमार मिजारसँग छ ।  

घर भित्रको काममा व्यस्त रहने हुँदा कतिपय महिलाहरु क्षमता हुँदा हुँदैपनि अवसरबाट बञ्चित भैरहेका हुन्छन् । दिनमा ८ घण्टा काम गर्ने पुरुष भन्दा घरमा बिहान देखी बेलुकासम्म काम गर्दा महिलाहरुले बढि मिहेनत गरिरहेका हुन्छन् । 

यस्तो मिहेनत आम्दानीको रुपमा समेटिए महिलाहरुले सम्मान महशुस गर्ने र समाजिक न्याय सहितको समानता स्थापित हुने जानकारहरको बुझाई छ । 

तपाईंको बिचार