चिया उद्योगले मजदुरको स्वास्थ्य र सुरक्षा प्रति चासो दिएनन्

प्रकाशित मिति: 2018-03-02
जङ्ग तामाङ, सुम्हालुङ एफएम

पाँचथर । चिया उद्योगहरुले मजदुरको कार्य स्थलमा स्वास्थ्य र सुरक्षाप्रति त्यति चासो नदिएको पाईएको छ । पूर्वी पहाडी जिल्लाका अधिकांश उद्योगहरुले मजदुरको स्वास्थ्य र सुरक्षा प्रति खासै चासो नदिएको जन गुनासो छ । यद्यपी, केहि उद्योगहरु मजदुरमैत्री पनि छन् । पाँचथरको फिदिमस्थित कञ्चनजंघा टि–स्टेटको वातावरण मजदुरमैत्री छ । ४ वर्षदेखि कार्यरत मजदुर निर्मला तामाङ आफुहरुले उद्योगबाट सबै खाले सेवा सुविधा पाईरहेको बताउनुहुन्छ । 

उद्योगमा स्वास्थ्यकर्मी नै नराखेपनि पटक पटक मजदुरहरुको स्वास्थ्य परीक्षणसँगै उपचार गराउने, कार्यस्थलमा प्रयोग गर्नु पर्ने पोशाकसँगै अति आवश्यक माक्र्स, एप्रोन, चप्पल लगायतका स्वास्थ्य सुरक्षाका साधनहरुको प्रयोग गराउँदै आएको टि स्टेटका प्रमाणिकरण अधिकृत नारायण दाहालले बताउनुभयो । मजदुरको स्वास्थ्य हितका लागि एक जना स्वास्थ्यकर्मीलाई उद्योगमै राख्ने तयारी गरिरहेको दाहालको भनाई छ । 

चिया कारखानामा ठूलाठूला मेसिनहरु चल्छन् । मेसिन चल्दा निस्किने ठूला आवाजले कानको श्रवण शक्तिमा समस्या पनि आउन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यससँगै करेन्ट लाग्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । धुवाँधुलोजन्य ग्याँसहरुको असरको जोखिम पनि रहने चिकित्सकहरु बताउँछन् । यस्ता खालका सम्भावित थुप्रै स्वास्थ्य सम्वन्धिका कार्यस्थलमा निम्तिन सक्ने जोखिमहरुको न्यूनिकरणमा व्यवस्थापन पक्षले ध्यान दिनु पर्नेमा उन्नती परियोजनाका मूल्य श्रृङ्खला संयोजक विष्णु काफ्लेको जोड छ । 

कार्यस्थलमा मजदुरको स्वास्थ्य र सुरक्षालाई लक्षित गरी प्राथमिक उपचार किट र अग्नी नियन्त्रण गर्न अग्नी यन्त्रको व्यवस्थापन पनि उद्योगहरुले राख्नु पर्ने मजदुर हक अधिकारको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

 

तपाईंको बिचार