‘विषादी होइन अब जैविक मल’

प्रकाशित मिति: 2018-03-02

लालीगुुराँस नगरपालिका ४ चित्रेका किसान जगत काफ्ले केही वर्ष अघिसम्म बेमौसमी तरकारी बालीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी छर्कन्थे । कार्बोफ्युरान र बायोर समूहका विषादी प्राविधिक सल्लाहबिनै अन्धाधुन्ध प्रयोग गर्थे ।

तेह्रथुमको छथर गाउँपालिका ओख्रेका महिला किसान कृष्णकुमारी पौडेल आफुले रोपेको अकवरे खुर्सानीमा स्थानीय स्तरमै तयार पारीएको जैबिक विषादी प्रयोग गर्दै । तस्बिर: चन्द्र/कान्तिपुर

 

विषादी प्रयोगबाट तरकारीका रोग किरा त निर्मुल हुन्थे, तर त्यसले आफू र उपभोक्तालाई पुर्‍याएको असरबारे उनलाई जानकारी थिएन । काफ्ले मात्र होइन, अधिकांश किसान उत्पादन बढाउन र रोगकिरा नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाएका डिडिटी, डाईअल्ड्रीन, लिन्डेन्, लोरडाइन, फस्फामिडन्, क्लोरडेन लगायत हानिकारक विषादी प्रयोग गर्थे ।
 
विषादीले रोग किराको समस्याहट्थ्यो । तरकारीमा चमक आउँथ्यो र बजारमा सजिलै बिक्थ्यो । तर त्यसको मन्द असर किसानले आफू र तरकारी बारीमा प्रत्यक्ष सम्पर्कमा आउनेआफ्ना परिवारका सदस्यलाई पर्न थालेको भेउ पाए । छाला चिलाउने, शरीरमा फोका उठ्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्‍यो । त्यसपछि मात्र बल्ल किसानले हानिकारक विषको असरका कारण यस्तो समस्या निम्तिएको थाहा पाए ।
 
वार्षिक १३ लाख रुपैयाँभन्दा बढीको बेमौसमी ताजा तरकारी बिक्री गर्ने अगुवा किसान काफ्ले विषादीले पुर्‍याउने असरबारे जानकारी पाएपछि जैविक विषादी प्रयोगमा जोड दिन थालेका छन् ।
 
विषादी प्रयोग गर्नैपर्ने अवस्था आइहाले मात्र कम समय असर रहने र मानव स्वास्थ्यमा असर नपुर्‍याउने खालका विषादी प्रयोग गर्ने गरेको उनले बताए । गाईबस्तुको मलमूत्र, कुहाइएको पत्कारजस्ता पदार्थबाट मल बनाएर किसानले प्रयोग गर्न थालेका छन् ।
तेह्रथुम सहित संखुवासभा र धनकुटाका किसानले वेमौसमी तरकारी खेती सुरु गरेकै समयदेखि विषादीको पनि प्रयोग बढ्न थालेको किसानको भनाई छ ।
 
जिल्लाका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन माध्यम काम गरिरहेका स्थानीय कृषि सहकारी, कृषि भण्डार तथा संकलन केन्द्रको सहयोगमा किसानलाई विषादीको प्रयोग र यसले मानव स्वास्थ्य तथा अन्य जिवजन्तुमा पुर्‍याउने असरबारे जानकारी गराउन थालेपछि प्रयोगको मात्रा पनि निकै घटेर गएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।
 
तरकारी बालीमा विषादी प्रयोगको मात्रा कम गर्न र जैविक विषादीको प्रयोग बढाउने उपायबारे सिकाउन कृषि प्राविधिकहरू किसानका खेतबारीमै पुग्न थालेका छन् । किसानलाई भेला पारेर तरकारी बालीमा विषादी प्रयोग गर्दा हुने हानीबारे जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।
 
रोगकिरा नियन्त्रणका लागि कार्यालयले किसानका खेतबारीमै पुगेर एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) सम्बन्धी कृषक पाठशाला समेत सञ्चालन गरिरहेको छ ।
यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका धरान, इटहरी, विराटनगर, झापा, नारायणघाट, काठमाडौं लगायत बजारसम्म पुग्छन् । नेपाली बजारभित्र किसानले उत्पादन गरेको बन्दा, काउली, मुला, आलु, रायोको साग, मटरकोसाजस्ता तरकारी बिक्रीका लागि पठाउँदा विषादीको मात्रा जाँच गर्ने व्यवस्था छैन ।
 
तेह्रथुमसहित धनकुटा र संखुवासभाको तरकारीलाई भारतीय बजारसम्म पुर्‍याउने काम गर्दै आएको धनकुटाको सिंधुवामा रहेको सिंधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङ पहिलेको तुलनामा किसानले तरकारी बालीमा विषादी प्रयोगको मात्रा धेरै घटाउदै
लगेको बताउँछन् ।
 
विषादी प्रयोग भएको तरकारी सहकारीले किन्न छाडेपछि किसानले बाध्य भएर तरकारी बालीमा विषादी प्रयोगको मात्रा घटाउदै लगेको उनले बताए । भारतको सिलगुढी, पानीटंयाङकी, कोलकत्ता लगायतका अन्तराष्ट्रिय वजारमा तरकारी पठाउदा नेपाल भारत सिमा मेचीमा क्वारेन्टाइन चेकजाँच हुने भएकाले पनि किसानले तरकारीमा विषादीको प्रयोग कम गर्दै लगेको बजार प्रमुख गुरुङले बताए । चन्द्र कार्की/कान्तिपुर

तपाईंको बिचार