ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो ।
सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्कीएँ’ अध्यक्ष पौडेलले टेलिफोनमा भन्नुभयो, ‘ढोकाबाट बाहिर निस्कनासाथ म माथि आक्रमण भयो ।’
पौडेलका अनुसार उहाँलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले मुङ्ग्रोले हानेका हुन् ।
अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ ।
राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभयो ।
प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।
अपराधी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ ।
तपाईंको बिचार