मौसमी रुघाखोकीले हरेक वर्ष एक करोड मानिस प्रभावित (अडियो)

नियन्त्रणका लागि सरकार महामारीको प्रतिक्षामा

प्रकाशित मिति: 2018-04-12
स्नेहा कर्ण, काठमाडौं ।
तस्बिर : गुगल
तस्बिर : गुगल

मौसम परिवर्तनसँगै मौसमी रुघाखोकी इन्फ्लुएन्जाका कारण बिरामी हुनेहरुको भिडभाड मुलुकका विभिन्न अस्पतालहरुमा देखिने क्रमसुरु भएको छ । 

विशेषगरी जाडो मौसम र गर्मीयाम सुरु हुने क्रममा देखिने मौसमी रुघाखोकीबाट लाखौ नेपाली प्रभावित हुन्छन् । तर मौसमी रुघाखोकीको प्रमुख कारण मानिने इन्फ्लुएन्जा नियन्त्रणको खोप नीति भने सरकारसँग छैन । 

राजधानीको मध्य भागमा रहेको वीर अस्पतालमा मौसम परिवर्तनसँगै बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीमा लामो समय ज्वरो आउने, घाँटी दुख्ने, श्वास फेर्ने गाह्रो हुने, खोकी लाग्ने लक्षण देखिन्छ ।  

मौसम परिवर्तनसँगै मौसमी रुघाखोकीका कारण नेपालमा हरेक बर्ष १ करोड मानिस प्रभावित हुने गरेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महशाखाको तथ्यांकले देखाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झण्डै ४ अर्ब मानिस मौसमी रुघाखोकीका कारण प्रभावित हुने गरेका छन् । 

औषधी उपचारले मात्रै नियन्त्रण गर्न नसकिने इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले निष्कर्ष निकालेको छ । 

महाशाखाका निर्देशक डा.केदार सेन्चुरीका अनुसार खासगरी बच्चा, वृद्ध, दीर्घ रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तीहरुलाई खोप प्रस्ताव गरिन्छ । ति बाहेककालाई पनि खोप लगाउन सकिन्छ तर सरकारको नीतिमा यो विषय समावेश छैन ।  

विशेषगरी बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई यसले बढी असर गर्दछ ।

रोग नियन्त्रण महाशाखाले खोप ल्याउने आवश्यकता ठानेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नै फैलि नसकाले त्यसको जरुरत ठानेको छैन ।

नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता महेन्द्र श्रेष्ठ भन्नुहुन्छ, ‘यसका लागि खोप कार्यक्रम नै ल्याउने भन्ने विषय हाम्रो प्राथमिकतामा परेको छैन । यस सम्बन्धि अध्ययन भएको छैन, बजेट विनियोजन पनि भएको छैन ।’ 

उहाँका अनुसार ठूलो महामारिका बेला मात्रै खोप प्रयोग गर्ने गरिएको छ । अन्य समयमा खोपको आवश्यकता पर्ने महसुस भएको छैन । 

तथ्याङ अनुसार मौसमी रुघाखोकीका कारण हरेक वर्ष ४० देखि ५० जनाको मृत्यु हुने गरेको छ ।

जाजरकोटमा यसै बर्ष महामारीका रुपमा देखिदा १७ जनाको मृत्यु भएको थियो ।

इन्फ्लुएनजा प्रभावित भएर लगाउनुपर्ने खोप सरकारसँग छैन । निजी अस्पतालमा लगाउने गरिन्छ ।

एक डोजको १५ सय रुपियाँ पर्दछ । नागरिकले मौसमी रुघाखोकीकै लागि  हरेक बर्ष अरबौ रुपियाँ खर्च गर्नुपर्ने बाध्यता छ । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार