अलैंची विकास बोर्डको माग : मूल्यमा केही सुधार

प्रकाशित मिति: 2018-06-06
चन्द्र कार्की

किसान र व्यवसायीले अलैंची विकास बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । अलैंची खेतीमा थुप्रै सम्भावना भए पनि समस्या समेत उत्तिकै देखा परेको भन्दै किसानले समस्या समाधानका लागि छुट्टै स्वायत्त निकाय गठनको माग गरेका हुन् ।

अलैंची खेतीका समस्या समाधानका लागि सरकारी स्तरबाट अलैंची विकास बोर्ड गठन भए समस्या समाधान हुने किसान र व्यापारी समेतले आशा गरेका छन् । अलैंची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग किरा र जनावरको संक्रमण नियन्त्रण, बजार व्यवस्थापन, खेती प्रविधिको अनुसन्धान, स्थिर मूल्य, बाली बिमा तथा बिनाधितो ऋण लगायतका व्यवस्था सहित अलैंची विकास बोर्ड गठन गरिनुपर्ने उनीहरूको माग छ । अलैंची खेतीबाट पर्याप्त आम्दानी हुने आशाले धान, मकै फल्ने खेतबारी मासेर अलैंची खेतीमा लागेका किसान पछिल्लो समय अलैंचीको मूल्यमा भारी गिरावट आएपछि निरास छन् ।

व्यावसायिक अलैंची खेतीमा लागेका किसानका लागि सरकारले पर्याप्त कार्यक्रम ल्याउन नसकेको फेदाप गाउँपालिका–२ को लालीगुराँस अलैंची कृषक समूहका सचिव नारायण भट्टराईले आरोप लगाए । अलैंची खेतीमा प्रशस्त सम्भावना भए पनि प्राविधिक ज्ञान र बजारको समस्याका कारण किसानले पछिल्ला वर्षमा भनेजस्तो लाभ लिन नसकेको सचिव भट्टराईको भनाइ छ ।

अलैंचीको बजार मूल्यमा सातायता केही सुधार आएको छ । सातायता स्थानीय बजारमा अलैंचीको मूल्य प्रतिमन ३४ हजार रुपैयाँ पुगेको छ । 

 

 

एकपटक रोपिसकेपछि लामो समयसम्म उत्पादन दिने भएकाले अलैंची खेती प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने लालीगुराँस नगरपालिका–९ को केप्छाकी नर्सरी उद्योगका सञ्चालक टेकबहादुर केप्छाकीले बताए । किसानले अलैंची बालीमा बिमाको सुविधा आवश्यक रहेको समेत औंल्याएका छन् ।

अलैंची खेतीतर्फ युवा पुस्ताको आकर्षण बढाउन सरकारले बिनाधितो ऋणको व्यवस्था गरी लगानीको वातावरण सिर्जना गरिदिनुपर्ने लालीगुराँस नगरपालिका–४ फुलेकका किसान योगेन्द्र कार्कीले बताए । अलैंची रोपेको तीन वर्षपछि मात्र उत्पादन दिने भएकाले सरकारले सहुलीयत दरमा युवा किसानलाई कर्जा दिन युवा किसान कार्कीले माग गरे । 

किसानले जस्तै व्यवसायीले पनि अलैंची व्यवसायमा विभिन्न समस्या देखाएका छन् । सरकारले अलैंची व्यवसायीको समस्याबारे कुनै ध्यान नदिएको अलैंची व्यवसायी संघका महासचिव तुलसी ढकालले बताए ।

सरकारले अलैंचीबाट ठूलो परिमाणमा राजस्व संकलन गरिरहेको भए पनि व्यवसायी र व्यवसायको हितका लागि केही पनि काम नगरेको महासचिव ढकालले बताए । अनिश्चित बजार, मूल्यमा उतारचढाव, क्वारेन्टाइन समस्या, झन्झटिलो कर प्रणाली, गुणस्तर मापन प्रयोगशाला अभाव, भारतीय एकल बजारमा आश्रित प्रणाली, बाली बिमाको व्यवस्था नहुनु, आन्तरिक खपत नहुनु जस्ता समस्या अलैंची खेतीका प्रमुख चुनौती रहेको किसानको भनाइ छ । 

मूल्यमा केही सुधार
अलैंचीको बजार मूल्यमा सातायता केही सुधार आएको छ । सातायता स्थानीय बजारमा अलैंचीको मूल्य प्रतिमन ३४ हजार रुपैयाँ पुगेको छ । साता अघि जिल्लाका मुख्य बजारहरूमा प्रतिमन २८ हजार रुपैयाँमा अलैंची किनबेच भइरहेको थियो । विगतका वर्षमा प्रतिमन १ लाख १० हजार रुपैयाँमा अलैंची बिक्री भएको थियो ।

चार वर्षयता अलैंचीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । पछिल्लो समय अलैंचीको मूल्यमा केही सुधार आइरहेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । पूर्वका जिल्लामा उत्पादन भएको अलैंची व्यापारीले झापाको बिर्तामोडमा संकलन गरी भारतीय बजारतर्फ पठाउने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालमा उत्पादित अलैंचीको मूल्य थोरबहुत बढेको व्यापारीको भनाइ छ । मागमा आधारित बजार भएकाले उत्पादन बढी, माग कम भए मूल्य घट्ने र उत्पादन कम भई माग बढी हुँदा मूल्य बढ्ने गरेको महासंघका अध्यक्ष भट्टराईले बताए । 

अलैंची नीति लागू गर्न सुझाव
अलैंची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैंची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीले सुझाव दिएका छन् । अलैंची खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अलैंची नीति ल्याउने तयारी गरे पनि नीति लागू नभएकोप्रति व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अलैंची खेतीको विकास, विस्तार र बजारीकरणका लागि सरकारले चासो नदेखाएको भन्दै व्यवसायी र किसानले दुवै क्षेत्रको हित हुने गरी तत्काल नीतिगत व्यवस्था गर्न माग गरेका छन् । 

अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैंची खेतीको विकास, विस्तार र बजारीकरणको क्षेत्रमा सुधार ल्याउन तत्काल अलैंची नीति लागू गर्न माग गरे । किसानमा परम्परागत खेती प्रणाली, सिंँचाइ समस्या, लगानी गर्न पुँजी अभाव र प्राविधिक ज्ञान नहुँदा गुणस्तरीय अलैंची उत्पादन हुन नसकिरहेको अध्यक्ष भट्टराईले गुनासो गरे ।

तपाईंको बिचार