सदरलाइनको सडक विस्तारले नेपालगञ्जको मुहार फेरिदै

पर्यटकीय नगरको रुपमा विकास गर्न सरोकारवाला निकायको माग

प्रकाशित मिति: 2018-07-10

नेपालगञ्ज । लोकबहादुर सुनार ३ चैत २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर  आउँदा स्थानीय सरोकारवाला निकायसँग भन्नु भएको थियो, ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै पनि कसर बाँकी   राख्दिन ।’ 

कार्यकारी प्रमुखको भनाइ अनुसार नै नेपालगञ्जको ‘मुहार फेर्न’ एसियाली विकास वैंक (एडीबी) को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको काम सुरु भयो । 

यही अभियानमा जोडियो, नेपालगञ्जको केन्द्रमा रहेको सदरलाइन क्षेत्रको विस्तार । जसलाई व्यवस्थित गर्दा नेपालगबासीको गरिमा बढ्छ भन्नेमा नेता, कर्मचारी, स्थानीय अगुवा सबैको मत मिलेको थियो । कार्यकारी प्रमुख सुनारले स्थानीयसँग पटक–पटक अतिक्रमण हटाउन अनुरोध गर्नुभयो । नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि साथ दियो ।

 

व्यापारीले कहिले बर्खा, कहिले दसैंतिहार, छठको बाहाना गर्दै हप्ता, महिना र तीन वर्ष गुजारे । सुनारको कार्यकालमा सबैभन्दा जटिल काम सदरलाइन क्षेत्रको विस्तार भयो । १८ चैत्र २०७१  मा सदरलाइन क्षेत्रको विस्तार योजना सफल नहुँदै उहाँको कार्यकाल सकियो ।

 

सुनारपछिका नगर कार्यकारी अधिकृतहरू विष्णुप्रसाद भुसाल, हेमराज भुसाल, गिरिराज ज्ञवाली, कृष्णप्रसाद चापागाई, भीमबहादुर कुँवर र हरि प्याकुरेलको अधिकांश समय सदरलाइन क्षेत्रको अतिक्रमण हटाउँछु र सडक विस्तार गर्छु भन्दै बाहाना गर्ने व्यापारीलाई फकाउँदैमा बित्यो । 

 

नेपालगञ्ज–११ का नेपाली काँग्रेसका बुथ सभापति अनिल श्रेष्ठ कार्यकारी अधिकृतले काम गर्न नसकेको आरोप लगाउदै भन्नुहुन्छ, ‘सदरलाइन विस्तारमा अवरोध पुर्याउने थोरै थिए । कार्यकारीले अतिक्रमण हटाउने आँट नगर्दा समाधानमा ढिलाइ भयो ।’ एडीबी सहमतिमा मात्र काम गर्छ भन्नेबारे स्थानीय जानकार थिए । 

 

१४ असार २०७४ मा स्थानीय तह निर्वाचन सम्पन्न हुँदा एडीबीसँग सम्झौताको तीन वर्ष पुग्नै थालेको थियो । निर्वाचित भए लगत्तै नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्ज उद्योग व्यापार सङ्घको हलमा आयोजित एक कार्यक्रममा तीन महिनाभित्र अतिक्रमण नहटाए डोजर चलाउने चेतावनी दिनुभयो । तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले मेयर राणाको अभियानमा सहयोग गर्ने घोषणा गनुभयो । यो चेतावनीले व्यापारी केही हच्किए ।

 

सदरलाइनमा रहेका २ सय १९ घरमध्ये १ सय ६१ घर भत्काउनुपर्ने थियो । १ सय ५३ घरधनी अतिक्रमण हटाउन सहमत थिए । ‘चार/पाँच जनावाहेक बहुमत व्यापारीले अतिक्रमण हटाउने कागजमा हस्ताक्षर गरेका छन्’, सहमतिकर्तासमेत रहनु भएका प्राध्यापक डा. जनार्दन आचार्यले भन्नुभयो । 

 

सहमति भइसक्दा पनि केही व्यापारीले चुनौती दिइरहेका थिए । १४ बैशाखमा पार्वतीदेवी तमोली, जैनेन्द्रकुमार टण्डनलगायत १४ जनाले उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निषेधाज्ञा, प्रतिषेध, परमादेश, उत्प्रेषणसमेतको मुद्दा दायर गरेपछि सदरलाइन विस्तार अभियानमा ब्रेक लाग्ने कतिपयको अनुमान थियो । 

 

तर २० बैशाखमा न्यायाधीशद्वय गुणराज ढुङ्गेल र खुशीप्रसाद थारुको संयुक्त इजलासले उपमहानगरपालिकाको विकास निर्माणमा प्रतिकूल असर पर्नसक्ने भन्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश दियो । त्यसको भोलिपल्टै २१ बैशाखमा मेयर डा. राणा, उपमेयर उमा थापा मगरको नेतृत्वमा उपमहानगरको डोजरले त्रिभुवनचोक दक्षिणतिरका केही पर्खाल भत्कायो ।

 

त्रिवेणीमोडदेखि चारबाहिनीसम्म १४ देखि २१ मिटरसम्म ‘बर्साती’ पछाडिको पिलर नछुने गरी सडक विस्तार भइरहेको छ । त्रिभुवन चोक उत्तरमा सडक कालोपत्रे भइसकेको छ । दक्षिण र पूर्वमा निर्माणाधीन छ । उपमहानगरपालिकाको सहरी विकास आयोजनाले एडीबीको सहयोगमा नगरभित्र १ अर्ब ६३ करोड लागतमा काम गरिरहेको इन्जिनियर शैलेन्द्र महर्जनले बताउनुभयो । ‘यही बजेटमा चारवाहिनीदेखि त्रिवेणी मोडसम्म सदरलाइन विस्तारको काम भइरहेको छ ।’ महर्जनले भन्नुभयो । 

 

‘सदरलाइन व्यवस्थित हुँदा बाह्य पर्यटकले पनि बजारलाई एक चक्कर लगाएर जाने स्थिति बन्छ’, सदरलाइन विस्तारमा मध्यस्तकर्ताको भूमिका खेलेको नेपालगञ्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्यको दाबी छ । स्थानीय जयपाली कनोजियाका बुझाइमा सदरलाइन विस्तारले बजारको बेग्लै रौनकता थप्दैछ ।

 

सदरलाइन क्षेत्रको विस्तार नहुँदा त्रिवेणी मोडदेखि टाँगास्टेसनसम्मको सडक आसपासमा जथाभावी पार्किङ गरिएका साइकल, बाइक र रिक्साका कारण आवातजावत गर्न समस्या मात्र थिएन, उक्त सडकमा कामै पर्दाबाहेक वैकल्पिक सडक रोज्नुपर्ने बाध्यता नागरिकको थियो । 

 

नेपालगञ्ज सहरको इतिहास र सम्भावना 

 

डेढ सय वर्षअघि राणा प्रधानमन्त्री जङगबहादुरको निर्देशनमा लखनउको हजरतगञ्ज सहरको शैलीमा ऐतिहासिक नेपालगञ्ज सहर बसाइएको थियो । ‘सडकपेटी (बर्साती) सहितको बस्ती विकास गरिएको थियो । व्यापारीले पेटी अतिक्रमण गरेका थिए’, प्राज्ञ सनत रेग्मी सम्झनुहुन्छ ।

 

सडक पेटी एक सय वर्षभन्दा बढी समय अतिक्रमणमा   प¥यो । सडक साँघुरो हुँदा पैदलयात्री र सवारी साधन आवागमनमा समस्या हुन्थ्यो । सडकपेटीमै व्यापार व्यवसाय गर्दा सदरलाइनको सौन्दर्यता हराएको थियो । २०४९ मा नेपालगञ्ज नगरपालिकाको मेयर बनेका विजय गुप्ताले रानीतलाउ, न्यूरोड विकासको अवधारणा अघि सारेको भए पनि कार्यान्वयनमा थुप्रै समस्या देखिए ।

 

२०५४ मा मेयर बनेपछि धवल शम्शेर राणाले विकासका आयोजना कार्यान्वयनको चरणमा पुर्याएको वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अनुभव छ । ‘दुबै मेयरको कार्यकालमा पर्यटकलाई लोभ्याउने योजनाहरु गाँसिएका थिए’, कर्माचार्य सुनाउनुहुन्छ, ‘उपमहानगर नेतृत्वमा राणाकै पालामा विस्तारको काम भएकाले सदरलाइनको मुहार फेरिँदैछ ।’ 

 

त्रिभुवनचौकको रावडी खान होस् वा सदरलाइन वरपरका पसलबाट मनपरेका लुगालत्ता किन्न, एकाविहानै या सम्साँझभन्दा दिनमा यो क्षेत्रमा भीड लाग्ने गर्छ । धम्बोझी पुगेर सुर्खेर रोड हुँदै यात्रा गर्नुभन्दा सदरलाइनबाटै छोटो दुरीमा हिँड्ने मनसायले टाँगा, रिक्सा, साइकल, बाइक र मोटरहरूको चाप धेरै देखिन्छ ।

 

कर्णाली प्रदेशका ७ जिल्लाका नागरिक रुपैडिहा क्षेत्रको किनमेलदेखि रोजगारीका लागि कालापहाड जान र फर्कन पनि नेपालगञ्ज सहर नटेकी सुखै हुँदैन । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी तत्कालीन देउवा सरकारले बुटवल नतोक्दै नेपालगञ्जलाई बनाउनुपर्छ भन्ने लहड पनि चल्यो तर राजनीतिक दलको आआफ्नै स्वार्थ र जिल्लास्तरका नेतामा परेको प्रभावले राजधानी बनाउने अभियान प्रभावकारी बन्न सकेन ।

 

आस्थाका आधारमा होस् वा पर्यटकीय हिसाबमा यहाँ रहेको बागेश्वरी मन्दिर सबभन्दा धेरै नागरिकले घुम्ने ठाउँमा पर्छ । तर वागेश्वरी मन्दिर मात्र होइन, रानी तलाउ, महेन्द्र पार्क, वाटरपार्कलगायतका पर्यटकीय क्षेत्र पनि नेपालगञ्ज सहरभित्र पर्छन् भन्ने पछिल्लो पुस्ताले बिर्सने डर बढ्दै गएको छ ।

 

रानी तलाउ र वाटरपार्कमा माछा पालन मात्र गर्ने, वाटरपार्क र महेन्द्रमार्कमा पनि  राजनीतिक भागबण्डामा ठेक्का लगाउने परिपाटीबाट नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व माथि उठेन भने पर्यटकीस्थल फेरि ‘देखाउने दाँत’ मात्र हुने चिन्ता यहाँका सरोकारवाला निकायका प्रतिनिधिमा छ ।

 

नेपालगञ्ज उपमहानगरपालिकाले प्रकाशित गरेको फिचर सेवामा समावेश गरिएका तथ्य र तथ्याङ्कलाई अाधार मानी यो सामग्री तयार पारिएको हो । 

तपाईंको बिचार