बर्सेनि २ लाख ५० हजार नागरिक हेपाटाईटिसबाट प्रभावित

हेपाटाईटिस ‘बी’ र ‘सी’ बढी घातक

प्रकाशित मिति: 2018-07-29
स्नेहा कर्ण
फोटोःगूगल
फोटोःगूगल

काठमाडौँ । नेपालको कुल जनसङ्ख्याको ०.९ प्रतिशत अर्थात् करिव २ लाख ५० हजार मानिसहरु बर्सेनि हेपाटाईटिस रोगका कारण प्रभावित हुने गरेका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक २५ जना हेपाटाइटिसका बिरामी आउने गरेका छन् । डा.शेरबहादुर पुनका अनुसार बिगतका बर्षहरुको तुलनामा हेपाटाइटिसका बिरामीको सङख्या बढ्दै गईरहेको छ ।

 

विभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजो रोग विषेशज्ञ डा.अखिलेश कुमार कश्यप हेपाटाइटिस रोगको लक्षण शुरुमा नै थाहा नहुने तर ज्वरो आउने, जीउ दुख्ने, आँखा पहेलो हुने, जण्डिस हुने जस्ता लक्षण देखा पर्न सक्छन् । 

 

हेपाटाइटिस ५ प्रकारका हुन्छन् । ए, बी, सी, डी र ई । तर, तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र ‘सी’ बढी घातक हुन्छ । हेपाटाइटिस बी’  र ‘सी’ का कारण हरेक बर्ष विश्वभर १३ लाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । हेपाटाइटिस रोग नियन्त्रणका लागि सरकारको पहल के छ ? स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी जनचेतनाका अभियान गर्ने गरेको, राष्ट्रिय खोप अभियानले पनि यसलाई समेटेको बताउनुहुन्छ । 

 

हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई आफुलाई रोग लागेको थाहा नै हुदैन भने हेपाटाइटिस ‘सी’ को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै हुँदैन । ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी आमाको संक्रमणबाट सर्ने गरेको अध्ययनले देखाएको छ । 

 

हेपाटाइटिसबाट जोगिने उपाएहरु के के हुन सक्छन् ? डा. कश्यपका अनुसार गर्भवतीको समयमा यसको रोगको जाँच गराउने, खोप लगाउने, व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामानहरु अरुको प्रयोग नगर्ने, असुरक्षित यौन सम्बन्ध नराख्ने गर्यो भने यसबाट जोगिन सकिन्छ ।  

तपाईंको बिचार