बाल प्रेम विवाह बढ्दो

बालविवाह रोक्ने हजारौको प्रतिवद्धता

प्रकाशित मिति: 2018-08-08

बाल अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनीधिहरुले पछिल्लो समय देशैभरि बाल प्रेम विवाहको समस्या बढ्दै गएको बताएका छन् ।  काभ्रे पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले सामाजिक सञ्जाल तथा मोवाईलका कारण यो समस्या झन बढेको बताउनु भयो । 

 

बाल विवाह बिरुद्धको सय दिने सञ्चार अभियानका अवसरमा सीआईएनले गरेको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले गाउँ गाउँमा रहेका सामुदायिक रेडियोहरुले उत्पादन गरेको कार्यक्रमका कारण बाल विवाह गैरकानुनी  हो भन्ने जानकारी बाढिरहेको बताउनु भयो । 

 

देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले सय दिनमा गाउँ, गाउँ टोल, टोलमा पुगेर ११ हजार नागरिकको बाल विवाह रोक्ने प्रतिवद्धता रेकर्ड गरेर रेडियोबाट प्रसारण गरेको बताउनुभयो । एकै बिषयमा यति धेरै व्यक्तिहरुको आवाज रेडियोबाट बजाएर नयाँ रेकर्ड कायम गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

 

सिन्धुपाल्चोकमा हुन लागेका दुई वटा बाल विवाह रोक्न सफल बालअभियान्ता सफलता भण्डारीले पछिल्लो समय प्रेममा परेर धेरैले बाल विवाह गरिरहेको बताउनु भयो । जिल्ला बाल सञ्जाल काभ्रेका अध्यक्ष रञ्जन पौडेलले बाल विवाह रोकिएको समाचारहरु आउने तर गाँउमा पुग्दा उनिहरु विवाह बन्धनमै बाधिएको पाइने गरेकाले भैसकेको विवाहलाई रोक्नु भन्दा पनि त्यो अवस्थामा पुग्नै नदिने गरि बिषेश अभियान गर्नु पर्ने बताउनु भयो । 

 

अधिवक्ता तथा मनोसामाजिक परामर्स दाता नानी थापाले बालविवाह सम्बन्धिको कुनै पनि मुद्धामा निशूल्क बहस गर्ने प्रतिवद्धता जनाउनुभयो । बालविवाहले निम्त्याउने सामाजिक तथा व्यक्तिगत समस्याका बारेमा पनि आफूले निशूल्क परार्मश दिने उहाँको प्रतिवद्धता थियो । 

 

बाल अधिकारकर्मी एवं वल्डभिजन इन्टरनेशनल नेपालका वकालत तथा पैरवी निर्देशक पुस्कर खातीले अभिभाबकले आफ्ना छोराछोरीलाई राम्रो दिशानिर्देश र परामर्श गर्न नसके बिचैमा पढाई छोडेर प्रेम विवाह गर्ने सम्भावना हुने भएकाले अभिभावक सबै भन्दा बढि सजक र सचेत हुनु पर्ने बताउनु भयो । 

तपाईंको बिचार