हाउडी पहिरो पीडितको एक वर्षपछि उद्धार

१ सय ७६ वटा पाल वितरण गर्दै बस्ति स्थानातरण

प्रकाशित मिति: 2018-08-09
विश्वनाथ सिम्खाडा, रेडियो चङ्खेली, कालिकोट
तस्विरः गुगल
तस्विरः गुगल

कालिकोट । कालिकोटको शुभकालिका गाँउपालिका वडा नम्बर ६ मा रहेको हाउडी पहिरोको जोखिममा रहेका स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ । गाँउपालिकाको पहलमा त्यसक्षेत्रका नागरिकले सारिएको हो । 

 

२५ घरधुरी रहेको गाउँमा पहिरो जतिबेला पनि आउन सक्ने भन्दै नैनेलमाडु चउरमा त्रिपालमुनि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष खडानन्द चौलगाईका अनुसार गतवर्षको साउन महिनामा आएको पहिरोले जनधनको क्षति गरेको थियो । निरन्तर वर्षा भइरहँदा अहिले पनि पहिरो झरिरहेको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । 

 

अब गाउँपालिकाको बजेटले पहिरो तटवन्धन नहुने भन्दै प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिसकेकोले केही समयसम्म मात्र बस्ति सारिएको उहाँको भनाइ छ । गाउँपालिकाले उद्धार गरेपछि पहिरो पीडित भने खुशी भएका छन् । 

 

‘पहिरोको डरले न राति निन्द्रा लाग्छ न त दिनमा नै ढुक्कसँग बस्न पायौँ ।’ स्थानीय सौरे विकले भन्नुभयो, ‘कोही पनि सङ्घसंस्थाले उद्धार गरेनन् ।’ पहिरो पीडित कलशा विकले पहिरो नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन समिति, गाँउपालिका र सुरक्षा निकायलाई जानकारी गराउँदासमेत कतैबाट पनि सहयोग नपाएको गुनासो सुनाउनुभयो ।

 

पहिरोको त्रासमा बस्नुभन्दा  गाउँपालिकाले अस्थायी बस्ति बनाएर उद्धार गरेको पहिरो पीडितले खुसी व्यक्त गरे । गाउँपालिका अध्यक्ष चौलागाई, उपाध्यक्ष पम्फाकुमारी शाही, वडा नम्बर ६ का अध्यक्ष कर्णवहादुर केसीलगायतको टोलीले १ सय ७६ वटा पाल वितरण गर्दै बस्ति स्थानातरण गरेको हो ।

 

तपाईंको बिचार