६ वर्षपछि जयलालको दम्पत्ति नातीखोलामा पुनस्थापित

विगतमा नजानी आफूहरुले गल्ती गरेको भन्दै गाउँलेले माफी मागे

प्रकाशित मिति: 2018-08-10
नहकुल जोशी, रेडियो बुढीनन्दा कोल्टी बाजुरा
तस्विरः नहकुल जोशी
तस्विरः नहकुल जोशी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ मा एक दम्पती ६ वर्षपछि गाउँमा पुनर्स्थापित भएको छ ।

 

हिमाली गाउँपालिका २ नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई गाउँलेले एक जना दलित युवाले घरको ओटालीमा गएको र पानी खाएको भन्दै आफूहरुबाट अलग्याएका थिए । 

अनावश्यक शङ्का गर्दै गाउँलेले दुख दिन थालेपछि गाउँ छोडेर जङ्गल नजिक घर बनाएर जयलाल दम्पत्ति बसेको थियो । हिमाली गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनरुप बुढाले सम्पूर्ण जनप्रतिनिधि र गाउँलाई राखेर जयलाल बुढा दम्पत्तिलाई पुनर्स्थापित गराइएको बताउनुभयो । बुढा दम्पत्तिले अव गाउँले र छोरा, बुहारीसँगै बस्न पाएकोमा खुसी ब्यक्त गरेका  छन् । 

 

विगतमा दलित भन्दै सामाजिक कार्यका साथै धारा, कुलादेखि घट्ट पिस्न समेत बञ्चित गरेका गाउँलेलाई हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले पुनर्स्थापित गर्न यसअघि नै दवाव दिनु भएको थियो ।

 

अध्ययक्ष मल्लले पुनर्स्थापित नगरे गाउँपालिकाले कानुनी बाटो खोज्ने चेतावनी दिनुभएको थियो । गाउँलेलेसमेत गल्ती स्वीकार गरेका वडाध्यक्ष धनरुप बुढाले जानकारी दिनुभयो । गाउँलेले आफूहरुले विगतमा नबुझेर यस्तो व्यवहार गर्नु गल्ती भएको भन्दै माफी मागेका थिए ।

 

हिमाली गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनरुप बुढाको रोहवरमा जयलालको परिवारलाई पुनर्स्थापित गरी उक्त निर्णय गाउँपालिकामा समेत प्राप्त भएको हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले बताउनुभयो । 

 

गाउँ फर्कन पाएकोमा खुसी लागेको जयलालकी श्रीमती रीमा बुढाले सुनाउनुभयो । गत जेठ १२ मा सीआईएनले जयलाल बुढाको परिवारलाई गाउँलेले सामाजिक बहिस्कार गरेको र पुनस्थापनाका लागि गाउँपालिकाको भूमिकाका बारेमा समाचार र रिपोर्ट प्रसारण गरेको थियो । 

तपाईंको बिचार