नाचौँ तीज सीजन ६ को उपाधि सिद्धार्थ डान्स ग्रुपलाई

प्रकाशित मिति: 2018-09-12

नेपालगञ्ज । कृष्णसार एफएमले आयोजना गरेको ‘नाचौं तीज सीजन ६’मा सिद्धार्थ कल्चरल डान्स ग्रुप, खजुरा पहिलो भएको छ । १ सय २४ प्रतिष्पर्धीलाई पछि पार्दै सिद्धार्थ डान्स ग्रुपले नगद पचास हजारसहितको पुरस्कार हात पारेको हो ।

 

नेपालगञ्जको भेरी इंग्लिस स्कुलले नगद २५ हजारसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ भने बर्दियाको बढैयातालकी स्वर्णिमा गुरुङ्ग तेस्रो हुनु भएको छ । उहाँले नगद १५ हजार पुरस्कार पाउनु भयो ।

 

अघिल्लो वर्ष उपाधि लिएको ग्रीनपीस स्कुल कोहलपुरले यसपाली ५ हजार रुपैयाँको प्रोत्साहन पुरस्कार पायो भने कोहलपुरकै बालज्योती अङ्ग्रेजी माविले नगद ५ हजारकै उत्कृष्ट भेशभुषा पुरस्कार पायो ।

 

नेपालगंजका मेयर धवलशमशेर राणा, बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । बाँके र बर्दियाका पाँच ठाउँमा भएका अडिसनमा सहभागी एक सय २५ मध्ये छानिएका ३७ प्रतियोगीबीच नेपालगञ्जमा अन्तिम प्रतिष्प्रर्धा भएको हो ।

 

अडिसनका क्रममा बर्दियाको राजापुरबाट ७, बाँसगढीबाट ५, बढैयातालबाट ८, बाँकेको कोहलपुरबाट ९ र नेपालगञ्जबाट ८ गरी ३७ प्रतियोगी छानिएका थिए । राजापुरमा १९, नेपालगञ्जमा २४, कोहलपुरमा २६, बाँसगढीमा २४ र बढैयातालमा ३२ प्रतियोगी सहभागी थिए ।

 

कृष्णसार एफएमले गीत र नृत्यसँग जोडिएको नेपाली नारीहरूको महान चाड तीजको संरक्षणसँगै नयाँ प्रतिभालाई अवसर दिन विगत ६ वर्षदेखि यो कार्यक्रम गर्दै आएको कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिनुभयो । ‘नाचौँ तीज’ को सिजन ६ मा वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, नरेन्द्र श्रेष्ठ र सुशिला श्रेष्ठले निर्णायकको भूमिका निभाउनु भएको थियो ।

 

प्रतियोगिताका अडिसन र फाइनलमामा दर्शक र प्रतियोगीको उत्साहजनक सहभागिता रहेको थियो । बर्दियाका तीन ठाउँका अडिसन स्थानीय तहहरूसँगको सहकार्यमा भएका थिए भने नेपालगञ्ज अडिसन पनि नेपालगञ्ज उपमहानगरसँगको सहकार्यमा भएको थियो ।

 

बाँके, बर्दियाका कलाकारहरूको नृत्य उत्कृष्ट रहेको भन्दै वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले कृष्णसार एफएमले उनीहरूलाई मञ्च प्रदान गरेर प्रतिभा देखाउने मौका दिएको बताउनुभयो । प्रतियोगितामा स्कुल, कल्चरल ग्रुप, महिला समूह, एकल, साना बालिकासमेतको सहभागिता रहेको इभेन्ट संयोजक माधव अधिकारीले जानकारी दिनुभयो ।

तपाईंको बिचार