भिटामिन डी को मात्रा कसरी मिलाउने ? (अडियोसहित)

प्रकाशित मिति: 2018-09-29
सृजना बराल, काठमाडौं ।

काठमाडौँ । तपाईलाई शरीरको मांसपेशी दुख्ने, थकाई लाग्ने, हड्डी दुख्ने जस्ता समस्या छ भने भिटामिन डी को कमिले पनि हुन सक्छ ।

त्यसो भए शरीरमा नभइ नहुने तत्व भिटामिन डी कसरी सन्तुलमा राख्ने ? तपाईको मनमा यस्तो प्रश्न उठ्न सक्छ । यो रिपोर्टमा हामी भिडामिड डी का विषयमा चर्चा गर्दैछौं ।

 

काठमाण्डौका राघिनी जैसवाललाई घाममा बस्न त मन पर्छ तर घाममा बस्दा छाला कालो होला कि भन्ने चिन्ता पनि लाग्छ । उहाँ जस्तै हामीलाई पनि फुर्सदको समयमा घाममा बसिहाल्न मन पर्दैन । तर शरीरको लागि बिहान र साँझको घामको महत्व छुट्टै छ ।

 

पोषणविद ऋतु महर्जनले भन्नुभयो, ‘व्यस्त जीवनशैलीका कारण बिहान बेलुका घाममा बस्ने मानिस निकै कम हुनुहुन्छ, त्यसैले अहिले धेरै मानिसलाई भिडामिन डी को कमी भएको देखिएको छ । ’ 

 

शरीरमा भिटामिन डीको कमि भए मांसपेशी दुख्ने, हड्डी दुख्ने, हड्डीको समस्या हुने, बालबालिकाहरुमा तालुमा कमाल नआउने, गर्भवती महिलाहरुको बच्चा नै अपाङ्ग जन्मन सक्ने खतरा पनि रहन्छ ।

 

उसोभए शरीरमा भिटामिन डीलाई कसरी सन्तुलनमा राख्ने त ? जवाफमा अल्का अस्पतालका पोषणविद् विनिता पन्तले भन्नुभयो, ‘मुख्य त, भिटामिन डीको लागि विहान र बेलुकाको घाम नै सबैभन्दा राम्रो हुन्छ ।

 

दिनमा आधा घण्टा मात्रै विहानको घाममा बस्ने हो भने भिटामिन डी पर्याप्त रुपमा प्राप्त गर्न सकिन्छ । दुध, दहि, माछा, मासुमा पनि भिटामिन डी पाईने हुनाले यस्ता खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।’ 


पूरै शरीर ढाकेर हिड्ने, सधै छाता ओडेर हिड्ने, घर भित्रै बसेर काम गर्ने, घाममा ननिस्कने व्यक्तिलाई भिटामिन डीको कमि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

 

तुलनात्मक रुपमा कालो छाला हुने व्यक्तिहरुलाई भिटामिन डीको कमि हुने तथा उमेर ढल्किएसँगै भिटामिन डी घट्दै जाने भएकाले विशेष ध्यान दिन चिकित्सकहरुको आग्रह छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार