सीआईएनको प्रभावः डेढ करोड रकम चार महिनामा फिर्ता

अनियमितता भएनभएको बारे अनुसन्धान गर्न छानबिन समिति गठन

प्रकाशित मिति: 2018-10-06
नवराज महतारा, रेडियो कर्णाली आवाज, हुम्ला
रेडियो कर्णाली आवाजले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी खार्पुनाथ गाउँपालिकाका पदाधिकारीलगायत अरु अतिथि
रेडियो कर्णाली आवाजले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी खार्पुनाथ गाउँपालिकाका पदाधिकारीलगायत अरु अतिथि

हुम्ला। चार महिनाअघि सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा स्थानान्तर भएको भनिएको साढे १ करोडभन्दा धेरै रकम खार्पुनाथ गाउँपालकिाले फिर्ता गरेको छ । 

 

खार्पुनाथ गाउँपालिका र राष्ट्रिय वाणिज्य सिमकोटका कर्मचारीको लापरवाहीका कारण रकम स्थानान्तरण भएको थियो । यसबारेमा सीआईएनले असोज ९ गते खोजी रिपोर्ट प्रसारण गरेपछि रकम फिर्ता र अनियमितता भएको वा नभएको बारेमा अनुसन्धानका लागि सम्बन्धित निकाय दवावमा परेका थिए । 

 

रेडियो कर्णाली आजाव हुम्लाले आज गरेको कार्यक्रममा खार्पुनाथका प्रमुख प्रशासकीय अधिृत चन्द्रवीर शाहीले रकम फिर्ता भएको बताउनुभयो । खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले सिमकोट गाउँपालिकाको खाताबाट स्थानान्तरण भएको रकमबाट विनियोजन भएका योजनाको छानबिनका लागि उपाध्यक्ष सिन्धु हमालको  संयोजकत्वमा छानबिन समिति बनाएको बताउनुभयो ।

 

समितिले पाँच दिनभित्र बुझाउने प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने उहाँको भनाइ छ । गएको असार मसान्तको सुरुदेखि अन्तसम्म हुम्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामालाई बजेटको रकम खर्च गर्दागर्दै हराएको शङ्का लाग्यो । यसबारेमा जिज्ञासा राख्दा लेखापाल आश्विनीकुमार देवकोटाले पैसा नहराएको जवाफपछि अध्यक्ष लामा झनै चिन्तामा पर्नुभयो । 

 

गाउँपालिकाको डेढ करोडभन्दा बढी रकम नभेटिँदा आधा दर्जनभन्दा धेरै योजनाको काम प्रभावित त भयो नै, खाताबाटै पैसा हराउनु अर्को अचम्मको विषय भयो । खोजी गर्दै जाँदा थाहा भयो कि खार्पूनाथ गाउँपालिकाको खातामा सीमकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६६७ रुपैयाँ गएको पाइयो ।

 

बाणीज्य बैंक सिमकोटका प्रबन्धक ठोक्रे विष्टले आफूहरूको सामान्य गल्ति भए पनि पूर्ण रूपमा खार्पुनाथ गाउँपालिका दोषी भएको टिप्पणी गर्नुभयो । खार्पूनाथ गाउँपालिकाले गएको जेठ २७ मा वाणिज्य बैंकलाई लेखेको चिठीमा आप्mनो सञ्चित कोषबाट रकम अर्को खातामा स्थानान्तरण गर्न भनिएको छ ।

 

खार्पुनाथले आफ्नो सञ्चित कोषको खाता नम्बर नलेखी सीमकोटको उल्लेख गर्यो र रुजु नगरी बैंकले सीमकोटको रकम स्थानान्तरण गरिदियो । बैंकका कारण सीमकोटको रकम आएको आरोप लगाउँदै खार्पूनाथका प्रमूख प्रशासकिय अधिकृत चन्द्रवीर शाही सुरुमा जोगिन खोज्नुभयो । 

 

बैंकले भीडभाडमा आप्mनो तर्फबाट केही कमजोरी भएको उल्लेख गरे पनि खार्पूनाथले लेखेको खाता नम्बरमा गलत हुनुमा आफ्नो कुनै दोष छैन भन्छ । लाखौँ रकम एक्कासी हराउँदा र पाउँदा दुवै गाउँपालिका झन्डै दुई महिना जानी वा नजानी चुप लागे ।

 

गाउँपालिकाले आन्तरिक लेखापरीक्षण गर्दा मात्र रकमको खोजी भयो । खार्पूनाथ र सिमकोट गाउँपालिकाको लेखापालको दोहोरो जिम्मेवारी आश्विनीकुमार देवकोटामाथि छ । 

 

तपाईंको बिचार