बाँकेमा भएकाे दुर्घटनामा ६ जनाको मृत्यु, ३ गम्भीर घाइते

प्रकाशित मिति: 2018-10-06
प्रियासमृति ढकाल, रेडियो सद्भाव नेपालगञ्ज

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मुगुवा खोला नजिक आज बिहान ट्रक र माइक्रो बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ ।

 

४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिनुभयो । ज्यान गुमाउनेमध्ये अहिलेसम्म चारजनाको मात्र सनाखत भएको छ ।

 

चालक हर्कमान चौधरी, दाङ तुलसीपुर उपमहानगरपालिका ८ का ३० वर्षीय तुलसी रावत, २३ वर्षीय बसन्ती चौधरी र ५० वर्षीय नारायणी क्रिसको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजनाको परिचय खुल्न सकेको छैन । 

 

दुर्घटनामा ११ जना घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

 

दाङबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको ट्रक बिहान सवा ९ बजेतिर राप्तीसोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईंको बिचार