सुदूरपश्चिम प्रदेशमा छैनन्,एकजना पनि मुटुरोग विशेषज्ञ

चुनावी नारामात्रै बन्यो अस्पताल स्तरोन्नति र विशेषज्ञ डाक्टर (अडियोसहित)

प्रकाशित मिति: 2018-11-11
ममता भट्ट, रेडियो अमरगढी, डडेलधुरा

डडेलधुरा । सुदुरपश्चिम प्रदेशमा ३० लाख जनसङख्या छ । तर एकजना पनि मुटुरोग विशेषज्ञ चिकित्सक छैनन् ।  

 

गत बर्षको चिसो मौसममा कैलाली, कञ्चनपुरमा मात्रै १५ जनाभन्दा बढीको मृत्यु भएको थियो । चिसो सुरु हुने वित्तिकै मुटु रोगका बिरामीहरु बढिरहेका छन् । तर सुदुरपश्चिममा मुटु रोग विशेषज्ञ चिकित्सकको अभाव छ । 

 

गत बर्षको चिसो मौसममा कैलाली, कञ्चनपुरमा गरेर १५ जनाको मृत्यु भयो । सुदुरपश्चिममा हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढिरहेको भएपनि मुटु रोग विशेषज्ञ भने एक जना पनि छैनन् ।

 

८८ वटा स्थानीय तह रहेको सुदुरपश्चिममा ३० लाख जनसङख्या छ । तर प्रदेश स्तरमा मुटु रोग विशेषज्ञ नहुँदा केही समस्या आए अन्य प्रदेशमा जानुपर्ने बाध्यता छ । 

 

प्रदेशमा विशेषज्ञ डाक्टरको किन अभाव ? यो प्रश्नमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भन्नुभयो, ‘विशेषज्ञ उत्पादन गर्न धेरै महङ्गो पनि छ । र उत्पादन भएका मान्छेलाई काम गर्नको लागि वातावरण बनाउन धेरै नै खर्च लाग्छ । ’

 

सुदुरपश्चिम प्रदेशमा हरेक क्षेत्रका विशेषज्ञ अभाव भएको उहाँ बताउनुहुन्छ । अवस्थीले अगाडी भन्नुभयो, ‘एकातिर यो प्रदेशमा आउन मान्दैनन्, अर्कोतर्फ आवश्यक भौतिक संरचना र औजार/उपकरणको अभाव छ ।’

 

विगतमा स्वास्थ्य मन्त्रालयले विशेषज्ञ डाक्टर पठाउन आनाकानी गरेको भनिएपनि विशेषज्ञ डाक्टर ल्याउनको लागि प्रदेश सरकारले पनि पहल गरेको छैन ।

 

प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी मुटुरोग विशेषज्ञको अभावका कारण सुदु्र पश्चिमका अस्पतालमा डाक्टर ल्याउन नसकेको बताउनुहुन्छ । 

 

हरेक निर्वाचनमा सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल र डडेल्धुराको उप क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने र विशेषज्ञ चिकित्सक पु¥याउने नारा लाग्छ ।

 

तर नेताहरुले अस्पतालको स्तरोन्नतिको लागि पहल गर्ने परै जाओस्, तलब दिएर पाइने चिकित्सकको दरबन्दी समेत ल्याउन सकेका छैनन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार