भक्तपुरमा घरदैलो नर्सिङ सेवा प्रभावकारी

वृद्धवृद्धा र अशक्तहरुलाई अस्पताल जानुपर्ने बाध्यता टर्यो (अडियोसहित)

प्रकाशित मिति: 2018-12-01
सबिना श्रेष्ठ, प्रशिक्षार्थी पत्रकार

भक्तपुर । आफ्नै घरआँगनमा आएर स्वास्थ्यकर्मीले जाँच गर्न थालेपछि भक्तपुरको सूर्यमढीकी ८७ वर्षिया हर्कमायालाई स्वास्थ्य संस्था जानुपरेको छैन ।

 

भक्तपुर जनस्वास्थ्य सेवा केन्द्र र भक्तपुर नगरपालिकाको सक्रियतामा स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने बिरामीका लागि निशुल्क घरदैलो स्वास्थ्य सेवा सुरु गरिएको हो । यसबाट वृद्धवृद्धा र अशक्तलाई सजिलो भएको छ ।

 

जनस्वास्थ्य केन्द्रका नर्स सविना दुवालले विशेषगरी वृद्धवृद्धा, सुत्केरी महिलालाई यो सेवा लक्षित गरिएको बताउनुभयो ।  

नगरपालिकाको १६ महिनाअघि वडा नम्बर तीन, चार र ६ बाट घरदैलो स्वास्थ्य सेवा सुरु गरेको थियो । गएको चैतबाट भने बाँकी सातवटै वडामा यो सेवा विस्तार गरिएको छ ।

 

हरेक वडामा नियुक्त गरिएका १–१ जना नर्सले शनिबारबाहेक हरेक दिन बिहान २ घण्टा अशक्त बिरामीको घर आँगनमा पुगेर सेवा दिने गरेको भक्तपुर जनस्वास्थ्य केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले जानकारी दिनुभयो ।

 

‘सेवाग्राही खेतीपातीमा लाग्नुपर्ने, दिउँसो जाँदा भेट नहुने भएकाले बिहानको सातदेखि नौ बजेसम्म घरदैलो स्वास्थ्य सेवा दिइरहेका छौँ ।’ लासिवाले भन्नुभयो, ‘त्यो २ घण्टा भित्रमा स्वास्थ्यकर्मीले रक्तचाप लिने, औषधि सेवनको बारेमा सल्लाह सुझाव दिने लगायतका काम गर्छन् ।’

 

भक्तपुरमा वृद्धवृद्धा मात्र नभई अशक्त, अपाङ्गता भएका, सुत्केरी लगायतलाई घरदैलो स्वास्थ्य सेवा दिने गरिएको छ । घरदैलो स्वास्थ्य अन्तर्गत गएको असोज र कात्तिकमा पाठेघरको क्यान्सरको जाँचका लागि सबै वडाहरूमा स्वास्थ्य शिविर गरिएको थियो । शिविरबाट १२ भन्दा बढी महिलामा पाठेघरको समस्या रहेको पत्ता लागेको छ ।

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येकलाई चिनीरोगको जाँचको माग समेत भए पनि बजेटको अभावमा यो सेवा चाँडै सुरु गर्ने अवस्था नरहेको बताउनुभयो ।

 

कार्यक्रम सुरु भएयता नगरपालिका भित्रका झण्डै १२ सयभन्दा धेरै बिरामीले घरदैलोमै उपचार पाएका छन् । विरामी भएपछि लामो दूरी पार गरेर स्वास्थ्य संस्थामा जानुपर्ने, पुगे पनि समयमा उपचार नपाउने समस्याबाट वृद्धवृद्धा र अरु विरामी पनि लाभान्वित भएका छन् ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार