संस्कृती जोगाउन द्योःछेँको भित्तामा कुँदिएको मूर्ति

प्रकाशित मिति: 2018-12-04
सोनी न्हेम्हाफुकी, प्रशिक्षार्थी पत्रकार

भक्तपुरको तलातुँन्छिमा रहेको गणेश द्योःछेँ अर्थात नेवार समुदायको भण्डारन गृहको भित्तामा बनाईएको नेवार सँस्कृती झल्कने कलाकृती आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।  

 

भित्तामा कुँदिएको कलाकृतीबाट पर्यटकले मात्रै होईन नयाँ पुस्ताले पनि परम्परागत जीवनशैलि बुझ्ने अवसर पाएका छन् । भक्तपुरको परम्परागत जीवनशैलि र संस्कृतीको जानकारी दिन स्थानीयको सक्रियतामा द्योःछेँका भित्ताहरुमा मुर्ती कुँदिएको हो । 


कोही माटोका भाँडा बनाईरहेका देखिन्छन्, कोही बनाइएका भाँडाहरु बोकेर अन्नसँग साट्न हिँडिरहेका छन् । महिलाहरु आफ्नै काममा व्यस्त छन् । युवापुस्ता भने साँस्कृतिक बाजागाजामा रमाइरहेका छन् । केही महिलाहरु चर्खामा धागो कातेर लुगा बनाईरहेका छन् भने कोही चिउरा कुटिरहेका छन् । 

 

कतै भने महिलाहरु साँस्कृतिक भेषभुषामा सजिएर मन्दिर जाँदै छन । द्योःछेँ भवन बाहिर टायलमा टाँसिएका मूर्तिबाटै परम्परागत नेवारी बस्ती नियाल्न पाईन्छ । स्थानीय समाजसेवी ज्ञानसागर प्रजापतिले, माटोको भाँडा बनाउने प्रजापतिहरुको परम्परागत पेशा लोप हुँदै गइरहेको अबस्थामा पुरै भवन टेराकोता नै टेराकोताले सजाउनु प्रशंशनिय रहेको बताउनुभयो । 

 

नेवारी सँस्कृति, परम्परा र चालचलनलाई जीवन्त राख्न भन्दै स्थानीयको सक्रियतामा यो कलाको प्रदर्शन गरिएको हो । भवनमा भक्तपुरमा नाचिने साँस्कृतीक नाचहरुमा प्रयोग हुने बाजा, मुकुट तथा कपडाहरु पनि राख्ने गरिएको छ । स्थानीय उपभोक्ता समितिका कोषाध्यक्ष विष्णु प्रसाद प्रजापति यसबाट पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । 

 

उहाँका अनुसार जनश्रमदान र चन्दा सङ्कलन  बाट भवन निर्माण भइरहेको छ, भवन निर्माण सम्पन्न भइसकेपछि परम्परागत बाजागाजा सिकाउन, लाखेनाच सिकाउन, तलातुँथि गणेशको जात्रा सञ्चालन गर्न पनि यो भवन प्रयोग गरिने छ । नेवारी कला संस्कृती जोगाउन सङ्ग्राहलय समेत बनाउने सोच रहेको प्रजापतिले बताउनुभयो ।

 

यस्ता खालका कलाकृतिबाट परम्परागत पेशा र जीवनशैलि जोगाउन तथा नयाँ पुस्तालाई जानकारी दिन सहयोग पुग्ने स्थानीयको भनाइ छ । स्थानीय बसन्ति प्रजापति नेवारी सँस्कृति झल्काउने सबै कुराहरु राख्नु राम्रो भएको बताउनुहुन्छ । त्यस्तै सत्य लक्ष्मी अवालले प्रजापतिहरुले गर्ने कामहरु कसरी भनेर देखाउनु राम्रो भएको बताउनुभयो । 

 

द्योःछेँका भिक्तामा निर्माणाधिन अवस्थामा रहेको यस्तो कलाकृतीको माध्यमबाट परम्परागत संस्कृती संरक्षण संगै स्थानीय कलाकारले पनि रोजगारीको अवसर पाएका छन् । 

 

 

 

 

 

 

तपाईंको बिचार