बहसमा शिक्षाशास्त्र संकायको पढाइ (अडियोसहित)

खारेज गर्ने कि सुधार ?

प्रकाशित मिति: 2018-12-05
गीता चिमोरिया

काठमाडौं ।

शिक्षाशास्त्र पढेको भन्दै कतिपयले हेलाको भावले कुरा गरेको सुन्दा शिक्षा विषय पढिरहनु भएका सुर्खेतका इन्दु पुरीलाई नराम्रो लाग्छ ।

 

गुल्मीका सिता केसीको बुझाइ अर्कै छ । उहाँ भन्नुहुन्छ, शिक्षाशास्त्र पढेकाहरुलाई रोजगारी पाउन मुस्किल छ । 

 

२०१३ सालको भदौ २५ गते शिक्षक प्रशिक्षण महाविद्यालय स्थापना भएको मितिलाई आधार मान्दा शिक्षा शास्त्र पढाइ सुरु भएको ६२ वर्ष बित्यो ।

 

शिक्षित जनशक्ति र शिक्षाको गुणस्तर सुधार्न भन्दै मन्त्रिपरिषद्ले निर्देशक समिति बनाएपछि शिक्षाशास्त्रको पढाइको गुणस्तरको बारेमा बहस सुरु भएको छ । 

 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका शिक्षा संकायका सहायक डिन बलराम रायमाझी शिक्षाशास्त्र संकायको मात्रै नभइ सबै संकायको पढाइको गुणस्तरका विषयमा प्रश्न उठेको बताउँनुहुन्छ । 

 

रायमाझीले भन्नुभयो, ‘नेपालमा आज होइन धेरै वर्ष पहिलेदेखि शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने विषयमा कुरा उठिरहेको छ तर यसमा हामीले गहन अध्ययन र छलफल नगरी केही भन्न सक्दनौं ।’ 

 

सरकारले अक्षराङ्क पद्धती सुरु गरेपछि विद्यार्थीहरूमा पढ्ने सँस्कृति कम हुँदै गएको शिक्षकहरु बताउँछन् । शिक्षाविद् डा. प्रमोद भट्ट शिक्षा शास्त्र संकाय खारेज गर्ने बहससँग सहमत हुन नसकिने बताउनुहुन्छ । 

 

भट्टले भन्नुभयो, ‘खारेज गरौं भन्नेहरु त होलान्, तर यो तर्कसँग म सहमत हुन सक्दिनँ । नेपाल सरकारले राम्रो काम गरेन, सरकार खारेज गरौं भन्ने त अब हामीले ? शिक्षा मन्त्रालयले सामूदायिक विद्यालयहरुमा राम्रो काम गर्न सकेन अब शिक्षा मन्त्रालय नै खारेज गरौं भन्न पनि सकिएला । भन्न त पाइयो तर संकाय नै खारेज गर्ने भन्ने बहसमा कुनै तुक देख्दिनँ ।’

 

बरु शिक्षाशास्त्र संकायभित्र देखिएका कमजोरीहरुको गहिरो अध्ययन गरी सुधार गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । 

 

शिक्षाशास्त्र संकायमा अध्यापन गरिरहनुभएका एकजना शिक्षक विजयराज प्रजापति सरकारको गलत नीतिका कारण अन्य संकाय भन्दा शिक्षा शास्त्र संकायको पढाइ कमजोर बन्दै गएको बताउनुहुन्छ । 

 

प्रजापतिले भन्नुभयो, ‘पहिलो कुरा त हाम्रो सरकारको नीति नै गलत छ । धेरै ग्रेड आउनेले साइन्स पढ्ने वा अरु विषय पढ्ने अनि कम ग्रेड आउनेले शिक्षाशास्त्र पढ्ने भन्ने गलत नीतिले गर्दा हाम्रो फ्याकल्टीमा कमजोर विद्यार्थी आए । ’

 

सरकारले नीति नै परिमार्जन गरी शिक्षाशास्त्र संकायको पढाइको गुणस्तर सुधारमा पहल गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

 

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा शिक्षा शास्त्र संकाय पढेका ७ लाख जनशक्तिसँग अध्यापन अनुमतिपत्र छ । लाइसेन्स नलिनेको संख्या जोड्दा यो संख्या अझै बढी हुन्छ । 

 

शिक्षा शास्त्र पढेका विद्यार्थीको पहिलो गन्तव्य शिक्षक भएर पढाउन जानु हो । र उनीहरूले बालबालिका, युवादेखि वयस्कहरूको भविष्य निर्माणका लागि बाटो देखाउनुपर्छ । तर गुणस्तरीय शिक्षाको अभावमा शिक्षाशास्त्रको पढाइ खिसिट्युरीको विषय बन्ने गरेको छ ।त्यसैले शिक्षा संकायको पढाइ व्यवस्थित गर्ने योजनामा सरकार छ । 

 

 

शिक्षाशास्त्रको पढाइ स्थगित गर्ने सरकारको तयारी भएकै हो ? शिक्षा सचिव खगराज बरालले यस सम्बन्धमा कुनै निर्णय भइनसकेको बताउनुभयो । 

 

बरालले भन्नुभयो, ‘विभिन्न कोणबाट बहस होस्, विभिन्न किसिमका प्रतिक्रिया आउन् भनेर इष्यु उठाइदिनुभएको छ मन्त्रीज्यूले तर यस विषयमा मन्त्रालयले आधिकारीक धारणा बनाइसकेको छैन ।’

 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन दिएपछि मात्रै आफूहरु यो विषयमा बोल्ने बरालले बताउनुभयो ।

 

शिक्षा मन्त्रालयको भनाइ अनुसार अहिले मुलुकभरमा गरी आवश्यक शिक्षकको संख्या एकलाख मात्रै हो ।

 

शिक्षा पढेर शिक्षक बन्ने पङ्क्तिमा लाखौँ विद्यार्थी उभिएका भए पनि शैक्षिक संस्थाको विकास, दक्ष शिक्षकको व्यवस्थापन र अदक्ष शिक्षकको बिदाइमा सरकारले तदारुकता देखाउन सकेको छैन ।

 

तल्लो तहको पढाइबाटै भविष्यमा शिक्षक बन्ने सपना देख्नेहरू सरकारले शिक्षाशास्त्रको पढाइ रोक्ने प्रस्ताव ल्याउन लागेको हल्लाले खुशी छैनन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार