रोगमुक्त गाउँपालिका बनाउने अभियान सुरु, घरमा डाक्टर-गाउँमा स्वास्थ्य शिविर

प्रकाशित मिति: 2018-12-07

मेल्लेख । अछामको मेल्लेख गाउँपालिकाले रोगमुक्त गाउँपालिका बनाउने  अभियान सुरु गरेको छ । सबै नागरिकलाई स्वास्थ्यपहुँचमा ल्याउनेगरि विषेश कार्यक्रम सुरु गरेको छ । सबै नागरिको रोग पत्ता लगाउने र त्यसै अनुसारको उपचार सेवा दिनेगरि घरदैलोमा डाक्टर कार्यक्रम सुरु गरेको छ ।

 

पहिलो चरणमा दुईवडा वडामा स्वास्थ्य शिविर चलाएर रोग पत्ता लगाउने कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिनुभयो । स्वास्थ्य परिक्षण गरेकाहरुको रोग अनुसार स्वास्थ्य जाँच कार्ड बनाइएको छ ।

 

त्यो कार्ड अनुसार गम्भिर प्रकृतिका विरामीलाई गाउँपालिकाले समेत सहयोग गरेर उपचारका लागि पठाउने, रोग अनुसार नियमित स्वास्थ्य शिविर चलाउने र स्वास्थ्य कार्ड हरेर नागरिकका घरमा नै पुगेर महिनाको एकपटक स्वास्थ्य जाँच गर्ने कार्यक्रम सुरु गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।

 

गाउँपालिको वडा नम्बर १, २ र ६ मा भिडियो एक्सरेसहितको स्वास्थ्य शिवर गरेर उपचार सेवा समेत गाउँपालिकाले सुरु गरेको छ ।  वडानम्बर १ र २ ऋषिदहमा ५ सय ७६ जनाको स्वास्थ्य परिक्षण गरेकोमा ९९ प्रतिशतमा स्वास्थ्य समस्या देखिएको छ ।  ती मध्ये महिला ४ सय ७१ पुरुष १ सय ५ जना महिला थिए ।

 

सबैभन्दा धेरै ९२ जनामा पेटको समस्या देखिएको थियो । १२ महिलाको पाठ्यघर खसेको, ६ जनामा पथ्थरी भएको र ८५ जनामा मूत्रप्रणालीमा समस्या रहेको देखिएको स्वास्थ्य परिक्षणमा सहभागि डाक्टर विस्लप श्रेष्ठले जानकारी दिनुभयो । 

 

त्यस्तै गाउँपालिको वडा नम्बर ६ शोडषामा १ सय ८० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । ती मध्ये १ सय ४६ जना महिला र ३४ जना पुरुष थिए ।  सबैभन्दा धेरै ४८ जनामा पेटजन्य समस्या देखिएको र २२ जना महिलाको पाठ्यघर खसेको पाइएको छ । १३ जनामा मूत्रप्रणालीमा समस्या देखिएको थियो । पाठ्यघर खसेका महिलाको निःशुल्क उपचार गर्नेगरि गाउँपालिकाले पहल गर्नेपनि बोहोराले जानकारी दिनुभयो । 

 

घरमा नागरिकता , नूनमा सहुलियत
गाउँपालिकाले नागरिकता विहीन नागरिलाई गाउँमा नै सिडियो लिएर घरमा नै नागरिकता दिएको छ । वडानम्बर १ मा ३ सय ६५ जनाले गाउँमा नै नागरिकता पाएका छन् । नागरिकता नभएका कारण जेष्ठ नागरिक भत्ता र अरु सामाजिक भत्तापाउन बन्चित हुनेहरुले राहात पाएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । 

 

नागरिकलाई सर्वसुलभ रुपमा ५ सय क्वीन्टल आयोडिन युक्त नुन समेत गाउँमा नै पुगेर वितरण गरिएको छ । कृषि बालीमा देखिने समस्या र पशुचौपायामा लाग्ने रोगका विषयमा पनि गाउँमा नै कृषि प्राविधिक पुगेर उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ । तीनवटा वडामा ४ हजार ८ सय २० पशुचौपायाको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईंको बिचार