अटिजम भएका बालबालिकाको जीवनयापन सजिलो बनाउन

व्यवहारिक शिक्षा र फिजियोथेरापीमा अभिभावकको भूमिका महत्वपूर्ण (अडियोसहित)

प्रकाशित मिति: 2018-12-15
सबिना श्रेष्ठ, प्रशिक्षार्थी संवाददाता
तस्विरः अटिजम केयर नेपाल सोसाईटीको वयवसाइटबाट
तस्विरः अटिजम केयर नेपाल सोसाईटीको वयवसाइटबाट

काठमाडौँ । कोही ठूलो स्वरमा कराउँछन्, कोही रुन्छन् । कोही खेलकुदमा सहभागी हुन्छन् त कोही एक्लै बसिरहन मन पराउँछन् ।

 

शारीरिक अपाङ्गता नभए पनि बालबालिकाले हाउभाउ नबुझ्ने, सामाजिक सीपको प्रयोग नगर्ने र कामहरु दोहो¥याएर गर्दा अभिभावकले समयमै ध्यान दिनुपर्छ ।

 

बालबालिकाहरूमा यस्तो लक्षण अटिजमका कारण देखा परेको हुनसक्छ । यस्तो समस्या भएका बालबालिकालाई अभिभावकको स्याहारसुसार महत्वपूर्ण हुन्छ । 

 

ललिता मानन्धरले आफ्नो छोरालाई अटिजम भएको थाहा पाउँदा अच्चमित भएको बताउनुभयो । विगतमा अटिजमको बारेमा केही थाहा नभएका कारणले मनोविद्को सल्लाहअनुसार अटिजमको बारेमा जानकारी प्राप्त गरेको उहाँको भनाइ छ । 

 

बच्चाले जन्मजात लिएर आउने मस्तिष्क विकासको समस्या नै अटिजम हो । जन्मेको ३ वर्षभित्र प्रष्ट रूपमा देखिने र जीवनभर रहिरहने यस्तो समस्याको कारण पत्ता लागेको छ्रैन तर थेरापीका आधारमा उनीहरूको जीवनयापन सजिलो बनाउन सकिन्छ । 

 

अटिजम भएका बालबालिकालाई हेरेर काम गर्न पनि गाह्रो हुने अटिजम भएका बालबालिकालाई अध्यापन गराउँदै आएकी विशेष शिक्षिका मञ्जु महर्जनको अनुभव छ । महर्जनका अनुसार बालबालिकामा अटिजम देखाप¥यो भन्दैमा आत्तिनु नहुने र उनीहरूसँग सक्दो बढी सम्बन्ध बनाएर सुधार ल्याउन सकिन्छ । 

 

अटिजमको सबैभन्दा प्रभावकारी उपचार नै व्यावहारिक शिक्षा हो । खेल वा चित्रको माध्यमबाट उनीहरूलाई सिकाउँदा प्रभावकारी हुन्छ । 

 

‘अटिजम भएका बालबालिकाहरुको व्यवहार फरकफरक हुन्छ । कोही बढी चिच्याउने हुन्छन् त कोही शान्त स्वभावका हन्छन् ।’ अर्का विशेष शिक्षिका सङगिता भूसालले भन्नुभयो, ‘ बढी चिच्याउने बच्चालाई शान्त हुन सिकाइने र शान्त कोठामा लगेर पढाइने गरिन्छ । त्यसैगरी शान्त प्रवृत्तिका बच्चालाई बढी स्वर दिएर सिकाउने गरिन्छ ।’

 

बच्चाले किन बोल्दैन, किन अरुसँग खेल्दैन, र किन बोलाउँदा हेर्दैन? यस्ता प्रश्न गर्नुपर्ने अवस्थामा अभिभावक पुगेका हुन्छन् । अटिजम केयर नेपाल सोसाईटीका प्रशासकीय प्रमुख तथा थेरापिष्ट सुरेन्द्र बज्राचार्यले अटिजम कुनै रोग नभएको विचार राख्नुहुन्छ ।  

 

अटिजम भनेको मस्तिष्कको विकासक्रममा आउने समस्या हो, जसका कारणले बच्चाहरूमा सञ्चार र सामाजिकीकरणमा समस्या हुने र हरेक क्रियाकलाप दोहो¥याएर गर्ने बज्राचार्यले बताउनुभयो । 

 

नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरु भएको अनुमान गरिए पनि सरकारीस्तरबाट एकिन  तथ्याङ्क संकलनको काम भएको छैन । अटिजम भएका बालबालिका र व्यक्तिका लागि औषधि उपचार नभए पनि विशेष सहयोग, प्रशिक्षण र थेरापीबाट उनीहरूको जीवन अर्थपूर्ण बनाउन सकिन्छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार