रामेछापमा भाइरल ज्वरोको प्रकोप, स्थानीय त्रसित

जिल्ला अस्पतालका सबै शैया भरिभराउ, २ दिनका विद्यालयसमेत बन्द

प्रकाशित मिति: 2019-01-24
राजन महतारा क्षेत्री, हजुरको रेडियो, रामेछाप

रामेछाप । मौसम परिवर्तनसँगै रामेछाप जिल्लामा फैलिएको भाइरल ज्वरोका कारण जिल्ला अस्पताल रामेछापको सबै शैया भरिएका छन् । 

 

दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि जिल्ला अस्पताल आउन थालेका छन् ।

 

भाइरल ज्वरोका बिरामी बढेकाले केही बिरामीलाई शैयाको  अभावमा  आकस्मिक कक्षमै  राखेर उपचार गराइरहेको जिल्ला अस्पताल रामेछापका डाक्टर लीलामणि राजभलाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार अस्पताल आउने धेरै बिरामीमा भाइरल ज्वरो र केहीमा दम रुघाखोकी, निमोनिया जस्ता समस्या  देखा परेको छ । भाइरलबाट धेरैजसो बालबालिका तथा बृद्घहरू प्रभावित छन् ।

 

बिरामीहरूमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, छाति दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण देखिएका छन् । मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका बिरामीले १५ शैयाको जिल्ला अस्पताल खचाखच भरिएको डाक्टर राजभलाले बताउनुभयो ।

 

चिसोको कारणले अस्पतालमा बिरामीको चाप बढेको बताउँदै उहाँले भाइरल ज्वरोबाट बच्न न्यानो कपडा लगाउन, तातो खानेकुरा खान, रुघाखोकी लागि हाले विशेष ध्यान दिन, धुलोबाट जोगिन र बालबालिका र वृद्धवृद्धाहरूको ख्याल गर्न  सल्लाह दिनुभएको छ । 

 

यसैबीच भाइरल ज्वरोले विद्यार्थी बिरामी परेपछि जिल्लाकै पहिलो माध्यमिक विद्यालय गौरीशंकर माध्यमिक विद्यालय २ दिनका लागि बन्द गरिएको छ ।

 

विद्यालयका ७० प्रतिशत विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले बताउनुभयो । विद्यार्थीसँगै शिक्षकहरू पनि बिरामी परेका छन् । 

तपाईंको बिचार